Rashtriya Dainik

प्रेम सम्बन्धबाट सुरु भएको विवादले लियो हिंसात्मक मोड : युवकमाथि खुकुरी प्रहार, ज्यान मार्ने उद्योगमा जाहेरी

सुनसरी,२ असार ।

प्रेम सम्बन्धको विषयलाई लिएर उत्पन्न विवादले हिंसात्मक रूप लिँदा एक युवक गम्भीर घाइते भएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ निवासी २३ वर्षीय रामबहादुर यादवमाथि खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरिएको छ।

पीडित यादवले दिएको जाहेरी अनुसार, आफू र भोक्राहा नरसिंह गाउँपालिका–६ निवासी P यादव (नाम परिवर्तन)बीच विगत २–३ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। सोही सम्बन्धप्रति असन्तुष्टि जनाउँदै आएका इनरुवा नगरपालिका–३ निवासी शिवु भनिने महेन्द्र यादवले पटक–पटक धम्की तथा गालीगलौज गर्ने गरेको आरोप लगाइएको छ।

जाहेरीमा उल्लेख भएअनुसार २०८२ फागुन २० गते साँझ P यादवको विश्वासमा परी भेटघाटका लागि गएको बेला बाटोमै केही व्यक्तिहरूले घेरा हालेर नियन्त्रणमा लिई बेहोस बनाएको र त्यसपछि महेन्द्र यादवको घरमा लगेर घरेलु हतियार प्रयोग गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको दाबी गरिएको छ।

घटनापछि गम्भीर अवस्थामा रहेका यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो। हाल उपचारपछि घरमै आराम गरिरहेको उनले बताएका छन्।

जाहेरीमा P यादव, शिवु भनिने महेन्द्र यादवसहित अन्य केही व्यक्तिहरूलाई योजनाबद्ध रूपमा ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। पीडितले घटनामा प्रयोग भएको खुकुरी बरामद गर्न, घटनास्थल मुचुल्का तयार गर्न तथा दोषीहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान मार्ने उद्योग मुद्दामा कारबाही गर्न माग गरेका छन्।

साथै उनले उपचार खर्च, क्षतिपूर्ति तथा कानुनबमोजिमको सजाय दिलाइदिन प्रहरीसमक्ष अनुरोध गरेका छन्। जाहेरीसँगै घाइते अवस्थाका तस्बिर तथा धम्कीपूर्ण भनिएको भ्वाइस मेसेजसमेत प्रमाणका रूपमा पेश गरिएको जनाइएको छ।
प्रहरीले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित