Rashtriya Dainik

प्रधानमन्त्री देउवाले काेराेना खाेपलाई प्राथमिकता दिइरहन पर्दैन : ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले भने सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताउनुभएको हो ।

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमवारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको शुभारम्भमा बोल्दै उहाँले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौँ । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौँ’, ओलीले भन्नुभयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दाबी गर्नुभयो । आफू नेतृत्वको सरकारले देश र नागरिकका लागि गर्व गर्न लायक काम गरे पनि अन्य दलले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नुपरेको उहाँको तर्क थियो । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको आफ्नो पार्टीको सरकारले पनि सफलतापूर्वक काम गरेकै कारण प्रतिक्रियावादीहरूले सरकारबाट हटाएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले पनि राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादी शक्तिहरूले पार्टीभित्रकै केही महत्त्वकाङ्क्षीलाई प्रयोग गरेर पार्टीलाई नै विभाजन गर्ने षड्यन्त्र गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही राजनीतिक दलले आफ्नो अस्तित्व रक्षाका लागि भए पनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामको विरोध गरेका हुन्, अध्यक्ष ओलीले भन्नुभयो, पार्टीभित्रका महत्त्वकाङ्क्षीहरूलाई सुर्‍याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

त्यस अवसरमा उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाअनुसार देशकाे समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबीसमेत गर्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित