Rashtriya Dainik

बिनाेद चौधरीको सक्रियताले कांग्रेसमा तरंग

नवलपरासी — नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरी राजनीतिमा सक्रिय भएपछि जिल्लाको राजनीति तरंगित भएको छ । कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन रुचि राख्दै उनले कार्यकर्ता भेटघाट तीव्र पारेका छन् ।

देवचुली नगरपालिका–२ का मतदातासमेत रहेका चौधरीले अधिवेशनको मुखमा आएर एकाएक कार्यकर्ता भेटघाट सुरु गरेका हुन् । यसले पुराना कार्यकर्ता निराश भएका छन् ।
चौधरीले क्षेत्र नम्बर १ बाट संघीय सांसद सत्यनारायण खनाल, क्षेत्रीय सभापति द्रोणवन सन्यासी, मदनभक्त अधिकारी, गजेन्द्र आलेलगायत नेतासँग भेटघाट गरेका छन् । कांग्रेस प्रवेश गरेको केही सातामै समानुपातिकतर्फ संघीय सांसद मनोनीत भएका चौधरीले जिल्लाका कार्यकर्तालाई पार्टी नेतृत्वमा आफू आउने रुचिसहित भेटघाट गरेको यो पहिलो पटक हो ।

कांग्रेसकै समानुपतिक सांसद भए पनि उनले जिल्ला नेतालाई समेत यसअघि भेट्ने गरेका थिएनन् । अहिले उनको भेटघाटले पुराना कार्यकर्ताले जिल्लामा आफ्हूरू असुरक्षित भएको ठानेका छन् । चौधरीले हर्कपुरमा रहेको उन्नति कल्चरल भिजेज (चौधरीकै होटल) मा कांग्रेसका कार्यकर्ता बोलाएर भेटघाट सुरु गरेका हुन् । चौधरीले आइतबार पश्चिम नवलपरासीसमेत गएर कांग्रेस नेता र कार्यकर्तालाई भेटघाट गरेका छन् । त्यसको संयोजन कांग्रेस केन्द्रीय सदस्य देबेन्द्र कँडेलले गरेका थिए ।

 

 

कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले चौधरीले जिल्लामा एकपक्षीय रूपमा भेटघाट थालेर गुटको राजनीतिमा सक्रिय भएको जनाए । जिल्लामा कार्यकर्ता भेटघाट तीव्र पारेको र ठाउँठाउँमा गुटगत भेटघाट गरेको सुनेको उनको भनाइ छ । ‘तर पार्टी च्यानललाई जानकारी छैन । जिल्ला पार्टी नेतृत्वलाई पन्छाएर भेटघाट गर्नुले गुटगत राजनीतिमा रुचि रहेको देखिन्छ,’ लामिछानेले भने, ‘यो पार्टीका लागि दुर्भाग्य हो । एकपक्षीय भेटघाटले कसैको राजनीति सुरक्षित रहँदैन ।’ उनले चौधरी केन्द्रीय नेतृत्वसँग सेटिङ गरेर कांग्रेसको नेता बन्न नसक्ने दाबी गरे । त्यही भेटघाट जिल्ला नेतृत्वलाई जानकारी गराएर गर्दा पनि हुन्थ्यो भन्दै लामिछानेले तर कसैलाई जानकारी नगराई भेटघाट गर्नुले गुटगत राजनीतिमा सक्रिय भएको पुष्टि भएको र त्यस्तो प्रवृत्तिलाई कांग्रेसले स्विकार्दैन ।

एमालेबाट कांग्रेस प्रवेश गरेलगत्तै चौधरी संघीय सांसदमा (समानुपातिक) मनोनीत भएका थिए । पूर्वी नवलपरासीकै मतदाता रहेका चौधरी सांसद रहेर पनि जिल्लालाई बेवास्ता गरेको आरोप लागिरहेकै बेला उनले केन्द्रीय नेतृत्वमा आउने रुचि राखेर कार्यकर्तालाई भेटघाट थाल्नुलाई अर्थपूर्ण मानिएको छ ।

 

 

 

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित