Rashtriya Dainik

पालिका प्रमुख राजा भए, गाउँमा सिंहदरबार होइन राजदरबार आयो : सभामुख यादव

राजविराज — प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले स्थानीय तहका प्रमुखहरुले आफूलाई राजा ठान्ने गरेको आरोप लगाएका छन् । उनले संघीयतापछि गाउँगाउँमा सिंहदरबार नभइ राजदरबार स्थापित भएको आरोप लगाए ।

जिल्ला समन्वय समिति सप्तरीद्वारा आइतबार राजविराजमा आयोजित जिल्ला सभामा सभामुख यादवले भने, ‘मेयरहरु राजाभन्दा कम छैनन्, संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार होइन राजदरबार आएको छ ।’
सप्तरीका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखसमेत सहभागी रहेको कार्यक्रममा सभामुख यादवले पालिका प्रमुखहरु जनतामुखी नभएको आरोप लगाए । उनले भने, ‘पालिका प्रमुखहरु जनतामुखी छैनन्, पार्टीमुखी भएका छन्, आफनो मान्छेको कुरा मात्र सुन्ने अनि बजेट दिने आफ्नो पार्टी बाहेकका जनताको कुरै नसुन्ने ।’

जनप्रतिनिधिले जनताको हिसाबले काम गर्नुपर्ने बताउँदै सभामुख यादवले पार्टी हिसाबले काम गरे विकास हुन नसक्ने ठोकुवा गरे । संघीयता आएपछि जनइच्छा अनुसारको संघीयता स्थापित हुन नसकेको बताउँदै सभामुख यादवले स्थानीय तहसँगै प्रदेश सरकारको पनि आलोचना गरे ।

‘संघीयता आएपछि न स्थानीय तहले जनअपेक्षा अनुसार काम गरे, न त प्रदेश सरकारले नै जनअपेक्षा अनुसार काम गरे,’ सभामुख यादवले भने, ‘यो देशमा पटकपटक व्यवस्था परिवर्तन हुनुको प्रमुख कारण भ्रष्टाचार र तानाशाही प्रवृत्ति नै हो ।’

जिल्ला सभामा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८/७९ का लागि पुँजीगततर्फ ५ करोड र चालुतर्फ एक करोड ५० लाख रुपैयाँको बजेट रकम प्रस्ताव गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित