काठमाडौं – नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै २ वटा ऐतिहासिक निर्णय गरेका छन् ।
शनिवार साँझ मुख्यमन्त्री पोखरेलले मनसुन सुरू भएसँगै विपद्बाट हुनसक्ने जनधनको क्षति न्युनिकरण गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले महिलाको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय समेत गरेका छन् ।
शनिवार प्रदेश प्रमुखबाट शपथ लिएसँगै पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई सहयोग गर्ने दल र प्रदेशसभा सदस्यहरूलाई धन्यवाद समेत दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङेसहित बहुमत ३१ सांसदको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका छन् । 
यस्तो छ मुख्यमन्त्री पोखरेलको संघर्ष –
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व जिल्लाको प्रदेशसभा क्षेत्र १(१) बाट निर्वाचित भएका हुन् । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता बनेका उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
२००५ जेठ ५ गते तनहुँको राम्चे अर्थात् हाल ब्यास–११ मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्माबाट जन्मिएका पोखरेलको घरमै राजनीतिक पृष्ठभूमि रहेको थियो । पोखरेलका बुवा प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँ जिल्ला सभापति रहेका थिए ।
कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि २०४८ देखि २०६७ सम्म ४ पटक कांग्रेस नवलपरासीको सभापतिमा रहेका थिए ।
विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्र पुनर्स्थापनाको लागि भएका आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताएको इतिहास छ ।
२०२२ देखि २०२८ सालसम्म पोखरेलले पिता स्व. गोवद्र्धन शर्माका साथमा भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै पोखरेलले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास विषयको अध्यापन गराएका थिए । पोखरेलले विभिन्न विद्यालयमा प्रधानाध्यापकको भूमिकामा समेत काम गरेका थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भएर नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयले पोखरेललाई जुम्लाको शिक्षकमा सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर पोखरेलले अन्तिममा शिक्षण पेशा छाड्नुपरेको थियो ।
वकालत पेशामा रहेर नेपाल बार एसोसिएसनको सदस्य समेत रहेका पोखरेलले प्रखर अधिवक्ताको रुपमा समेत गण्डकीमा परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित पोखरेलको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरु तनहुँ र नवलपरासीका जेलबाट छुटेका थिए ।
राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका पोखरेल एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष समेत रहेका छन् ।
भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल समेत पूरा गरेका छन् ।
यस्ता छन् पोखरेलको जीवनका प्रमुख घटनाक्रमहरू –
२०२२ देखि २०२८ – पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ – काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन
२०३५ – विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ – जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
२०३७ – निर्वाचन बहिष्कारका क्रममा जेल चलान
२०४६ – प्रथम जनआन्दोलनका क्रममा जेल चलान
२०४८ – सत्याग्रहका क्रममा जेल चलान
२०४८ – निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ बाट उम्मेदवार
२०४८–२०६७ – नेपाली कांग्रेस नवलपरासीको सभापति
२०६२/६३ – दोस्रो जनआन्दोलनका क्रममा जेल चलान
२०६७ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा निर्वाचित
२०७० – संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्ष तर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार भएपनि झिनो मतान्तरले हार
२०७४ – प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) मा निर्वाचित
२०७५ – गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित
२०७८ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

