नेपाल सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ । बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् ।
खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तरगतको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

