Rashtriya Dainik

पत्रकार महासंघको अध्यक्षमा पाँचजनाको दावेदारी

नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि पाँच जनाले दावेदारी पेश गरेका छन् । यही चैत २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी गर्दै शनिबार मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरूमा विपुल पोखरेल,गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा र रामप्रसाद दाहाल हुनुहुन्छ ।नेपाल पत्रकार महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिनुभएको छ ।

यसैगरी महासचिवमा बालकृष्ण वस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतम हुनुहुन्छ ।यस पटक पार्टीनिकटका पत्रकार संस्थाहरूका अतिरिक्त स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरू प्रशस्तै देखिएका छन् । यस पटकदेखि महासंघको निर्वाचन प्रत्यक्ष रुपमा सबै मतदाताले मत दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले माओवादी केन्द्रनिकटको प्रेस संगठन, नेकपा एमाले माधव नेपाल समूहनिकटको प्रेस चौतारीसहितका अरु संस्थासँग मिलेर उम्मेदवारी दर्ता गराएको हो । युनियनले विपुल पोखरेलको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारको छ ।

यसैगरी नेकपा एमाले अध्यक्ष केपी ओली निकटको प्रेस चौतारीले पनि अरु केही साना संस्थासँगको साझेदारीमा निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारेको छ ।

उता, युनियनमा भने आधिकारिक उम्मेदवारी नपाएपछि विद्रोही उम्मेदवारी पनि परेको छ । अध्यक्षमा रामप्रसाद दाहाल, उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा राजेश मिश्र उक्त समूहका सदस्यहरू हुन् ।

चौतारीमा पनि दीपक पाठकले विद्रोही उम्मेदवारी दिनुभएको छ भने गजेन्द्र बुढाथोकीले आफूलाई श्रमजीवीहरूको प्रतिनिधि भन्दै मनोनयन दर्ता गराउनुभएको छ ।

निर्वाचनका दिनसम्म कति जनाले फिर्ता लिने छन् र कति जनाको बीचमा मुख्य प्रतिष्पर्धा हुनेछ त्यसका लागि उम्मेदवारको अन्तिम सूची पर्खनुपर्नेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित