राष्ट्रिय दैनिक / नवलपरासी ,३ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ मगरमुढामा सञ्चालित दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा १९ जनाले रक्तदान गरेका छन्। मेलाको अवसरमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
मेला महोत्सवमा सांस्कृतिक कार्यक्रम र किनमेलसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत प्राथमिकता दिइएको सन्देश दिन नेपाल रेडक्रस सोसाइटी सरावल गाउँपालिका शाखाले मेला परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।
‘रक्तदान जीवनदान’ भन्ने मूल सन्देशसहित आयोजित कार्यक्रममा तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सरावल–१ तिलकपुरले आर्थिक सहयोग गरेको थियो।

नेपाल रेडक्रस सोसाइटी सरावल गाउँपालिका शाखाका अध्यक्ष सञ्जय मौर्याको अध्यक्षता तथा तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सत्यदेवी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले पछिल्लो समय देखिएको रगत अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्। उनले सहकारीले आर्थिक कारोबारसँगै शिक्षा, स्वास्थ्य तथा मानवहितका क्षेत्रमा योगदान पुर्याउने कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरिन्।
त्यस्तै, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुसान्त घिमिरेले मेलाको अवसरमा रक्तदानजस्तो मानवीय सेवाको कार्यक्रम आयोजना हुनु सकारात्मक रहेको बताए। उनले सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वसमेत बहन गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रमका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सरावल गाउँपालिका शाखाका अध्यक्ष सञ्जय मौर्याले रक्तदान गर्ने सबैलाई धन्यवाद दिँदै संकलित रगतले आकस्मिक तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।
रक्तदानमा सहभागीहरूलाई आयोजकले मेला प्रवेशका लागि निःशुल्क टिकट तथा प्रमाणपत्रसमेत वितरण गरेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

