Rashtriya Dainik

शंकास्पद दुईवटा गाडीसहित एक जना पक्राउ, चोरीको आशंकामा प्रहरीद्वारा अनुसन्धान सुरु

राष्ट्रिय दैनिक / नवलपरासी,३० कार्तिक ।

पश्चिम नवलपरासी प्रहरीले शंकास्पद अवस्थामा रहेका दुईवटा गाडीसहित एक जनालाई पक्राउ गरेको छ। गाडीको इन्जिन र च्यासिस नम्बर सवारी दर्ता किताबमा उल्लेख भएको विवरणसँग नमिलेपछि चोरीको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बाढीपीडितमा बस्दै आएका ३६ वर्षीय विजय हरिजन रहेका छन्।

प्रहरीका अनुसार हरिजनले बर्दघाट नगरपालिका–९ भुताहाकी ४८ वर्षीया दुर्गा गुरुङलाई बा.११ च. ८१९५ नम्बरको पुरानो सुजुकी स्विफ्ट गाडी १२ लाख रुपैयाँमा बिक्री गर्ने सहमति गरेका थिए। सोही क्रममा गुरुङले पटक–पटक गरी ६ लाख ५० हजार रुपैयाँ बुझाइसकेकी थिइन्।

बाँकी रकम दिएर गाडी नामसारी गर्न खोज्दा उक्त गाडी पास गर्न नमिल्ने भन्दै हरिजनले बा.१५ च. ५१८१ नम्बरको रातो रङको हुण्डाई कम्पनीको अर्को गाडी र त्यसका कागजात उपलब्ध गराएको प्रहरीले जनाएको छ।

तर, उक्त गाडीको सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर र च्यासिस नम्बर तथा वास्तविक गाडीमा रहेको नम्बर फरक देखिएपछि चोरीको आशंका गर्दै गुरुङले इलाका प्रहरी कार्यालय बर्दघाटमा जानकारी गराएकी थिइन्।

सोही सूचनाका आधारमा प्रहरीले हरिजनलाई दुवै गाडीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका हरिजनलाई सम्मानित अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित