Rashtriya Dainik

गोवर्धन पूजा आज, प्रकृति र जीविकाका आधारप्रति कृतज्ञता व्यक्त गर्दै मनाइँदै

राष्ट्रिय दैनिक । २४ कार्तिक

हिन्दू धर्मावलम्बीहरूले आज तिहारको चौथो दिन गोवर्धन पूजा श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। यस अवसरमा भगवान् श्रीकृष्ण र गोवर्धन पर्वतको पूजा गरी प्रकृति, पशुपन्छी तथा जीविकाका आधारप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो कान्छी औँलाले गोवर्धन पर्वत उठाएर गोकुलवासी तथा उनीहरूका गाईवस्तुलाई भारी वर्षा र इन्द्रको प्रकोपबाट बचाएको स्मरणमा गोवर्धन पूजा गर्ने परम्परा सुरु भएको हो।

श्रीमद्भागवत महापुराणको दशम स्कन्धमा उल्लेख भएअनुसार श्रीकृष्णले वर्षाका देवता इन्द्रको पूजा गर्नुभन्दा मानिसको जीवन र जीविकाको आधार बनेको गोवर्धन पर्वत, वनजंगल, गाईवस्तु तथा प्रकृतिको सम्मान गर्नुपर्ने सन्देश दिएका थिए। त्यसपछि गोकुलवासीले गोवर्धन पर्वतको पूजा गरेको धार्मिक कथा प्रचलित छ।

गोवर्धन पूजाका दिन घरआँगन तथा पूजास्थलमा गाईको गोबरबाट पर्वतको आकृति बनाएर फूल, अक्षता, धूप, दीपलगायत पूजासामग्री चढाई पूजा गर्ने चलन छ। यस दिन विभिन्न प्रकारका अन्न तथा परिकार भगवान् श्रीकृष्णलाई अर्पण गर्ने परम्परालाई अन्नकूट भनिन्छ।

नेपालमा गोवर्धन पूजासँगै गोरु तिहार पनि मनाइन्छ। परम्परागत कृषि प्रणालीमा खेत जोत्न, दाइँ गर्न तथा कृषि उपज ओसारपसार गर्न गोरुले पुर्‍याउँदै आएको योगदानको सम्मानस्वरूप गोरुको पूजा गर्ने चलन छ। यस दिन गोरुलाई नुहाइदिने, माला र टीका लगाइदिने तथा मीठा खानेकुरा खुवाउने गरिन्छ।

यसै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आफ्नै शरीर तथा अस्तित्वको पूजा गरी सुख, शान्ति, स्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा पनि रहेको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोवर्धन पूजाले प्रकृति संरक्षण, पशुपन्छीप्रतिको माया र मानिसको जीवन धान्न सहयोग गर्ने स्रोतसाधनप्रति सम्मान गर्नुपर्ने सन्देश दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित