पुरुषोत्तम सुवेदी / नवलपरासी, कार्तिक २२ गते ।
तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा पश्चिम नवलपरासीका उखु किसान भने खुसीभन्दा बढी चिन्ता र आर्थिक संकटमा छन्। वर्षभरि खेतमा पसिना बगाएर उत्पादन गरेको उखु चिनी उद्योगलाई बिक्री गरेको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाएपछि किसानहरू यस वर्ष पनि चाडपर्व रित्तो हात मनाउन बाध्य भएका छन्।
चाडपर्वका बेला नयाँ लुगा, घरखर्च, बालबालिकाको पढाइ तथा औषधोपचारको व्यवस्था गर्नुपर्ने समयमा किसानहरू साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन्। उखु खेतीलाई नगदे बालीका रूपमा अपनाएका किसानका लागि समयमा भुक्तानी नपाउँदा यही खेती आर्थिक बोझ बन्दै गएको छ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले चिनी उद्योगहरूले लामो समयदेखि किसानको बक्यौता भुक्तानी नगर्दा किसानहरू गम्भीर आर्थिक संकटमा परेको बताउनुभयो। उहाँका अनुसार प्रतापपुरस्थित इन्दिरा सुगर मिल र सुनवलस्थित लुम्बिनी चिनी उद्योगबाट किसानले पाउनुपर्ने रकम समयमा नपाउँदा चाडपर्वको मुखमा समेत किसान समस्यामा परेका छन्।
प्रतापपुरस्थित इन्दिरा सुगर मिलले किसानलाई तिर्नुपर्ने करिब सात करोड रुपैयाँ अझै भुक्तानी गरेको छैन। विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द रहेको उद्योगका सञ्चालक राकेश अग्रवाल किसानको रकम नदिई सम्पर्कविहीन रहेको बताइएको छ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार उद्योग सञ्चालक अग्रवालविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ। सञ्चालक हाल भारतमा बस्दै आएकाले सम्पर्कमा नआएको र प्रहरीले अनुसन्धान पूरा गरी मुद्दाको फाइल जिल्ला अदालत पठाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।
यता सुनवलस्थित लुम्बिनी चिनी उद्योगको बक्यौता भने तुलनात्मक रूपमा घट्दै गएको देखिएको छ। उद्योगले आर्थिक वर्ष २०७९/८० को करिब ७५ लाख रुपैयाँ र गत वर्षको करिब १० देखि १२ लाख रुपैयाँ गरी कुल ८५ देखि ८७ लाख रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाएको छ।
उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार बाँकी बक्यौता रकम यस वर्षको मिल सञ्चालन हुनुअघि नै भुक्तानी गर्ने गरी तयारी भइरहेको छ।
पश्चिम नवलपरासीका उखु किसानले भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयदेखि काठमाडौंको माइतीघर मण्डलसम्म पुगेर पटकपटक आन्दोलन गरे पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन। किसानहरूले फरार तथा गैरजिम्मेवार उद्योग सञ्चालकको सम्पत्ति रोक्का तथा लिलाम गरी भए पनि आफ्नो पसिनाको मूल्य दिलाउन सरकारसँग माग गर्दै आएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मुख्य रूपमा चारवटा चिनी उद्योग रहेका छन्। तीमध्ये मोहिनी सुगर मिल र इन्दिरा सुगर मिल लामो समयदेखि पूर्ण रूपमा बन्द छन् भने वाग्मती र लुम्बिनी चिनी उद्योग मौसमी रूपमा सञ्चालन हुँदै आएका छन्।
कुनै समय जिल्लामा वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको थियो। तर भुक्तानीमा ढिलाइ, उद्योगीबाट हुने लापरबाही तथा उत्पादन लागतसमेत उठाउन कठिन भएपछि किसानहरू उखु खेतीबाट पलायन हुँदै केरा, तरकारीलगायत वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
यसको प्रत्यक्ष असर उखु उत्पादनमा परेको छ। हाल जिल्लामा वार्षिक करिब १५ देखि १८ लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको अनुमान छ। उत्पादनमा आएको गिरावटले सञ्चालनमा रहेका चिनी उद्योगलाई समेत आवश्यक उखु जुटाउन कठिन हुन थालेको छ।
उखु खेतीप्रति किसानको आकर्षण घट्दै जानु र उत्पादनमा निरन्तर कमी आउनुले जिल्लाको चिनी उद्योगको भविष्यसमेत चुनौतीपूर्ण बन्दै गएको छ। किसानले उत्पादन गरेको उखुको उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित नगरेसम्म उखु खेतीको संरक्षण र प्रवर्द्धन सम्भव नहुने सरोकारवालाहरूको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

