Rashtriya Dainik

आज कुकुर तिहार, निष्ठा र सुरक्षाको प्रतीक कुकुरको पूजा गरी मनाइँदै

काठमाडौं ,२२ कार्तिक ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन कुकुरलाई यमराजको दूत, निष्ठा, सुरक्षा र न्यायको प्रतीकका रूपमा सम्मान गर्दै पूजा गर्ने धार्मिक परम्परा छ।

हिन्दु धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको सन्देशवाहक मानिन्छ। पौराणिक कथाअनुसार यमलोकको द्वारमा श्याम र सबल नामका दुई कुकुर पहरेदारका रूपमा रहने विश्वास छ। उनीहरूलाई प्रसन्न पार्ने उद्देश्यले कुकुरलाई मीठो खानेकुरा दिएर सम्मान गर्ने परम्परा रहेको छ।

महाभारतको कथामा पनि कुकुरको निष्ठा र साथको विशेष महत्त्व उल्लेख गरिएको छ। धर्मराज युधिष्ठिर स्वर्ग यात्रामा निस्कँदा अन्तिमसम्म साथ दिने कुकुरले निष्ठा र धर्मप्रतिको समर्पणको उदाहरण प्रस्तुत गरेको धार्मिक विश्वास छ।

त्यस्तै, भगवान् शिवको उग्र स्वरूप कालभैरवसँग पनि कुकुरलाई जोडेर हेर्ने गरिन्छ। कालभैरवलाई न्याय र सुरक्षाका रक्षक मानिने भएकाले कुकुरलाई पनि धर्म तथा न्यायको प्रतीकका रूपमा सम्मान गरिन्छ।

कुकुर तिहारका दिन कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मनपर्ने खानेकुरा खुवाउने चलन छ। धार्मिक मान्यतासँगै मानिसको सुरक्षा गर्ने, विपद्को पूर्वसूचना दिने र संकटमा साथ दिने कुकुरप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि यो पर्वलाई लिइन्छ।

कुकुरप्रतिको माया, सद्भाव र सम्मान प्रकट गर्दै मनाइने यस पर्वले मानिस र जनावरबीचको आत्मीय सम्बन्धलाई समेत उजागर गर्दछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित