Rashtriya Dainik

डिजिटल कांग्रेसको एजेन्डासहित केन्द्रीय सदस्यमा अनुकूल रेग्मीको दाबी

राष्ट्रिय दैनिक / काठमाडौं ,२१ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट युवा नेता अनुकूल रेग्मीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

रेग्मीले भूगोलतर्फ लुम्बिनी प्रदेशबाट ३५ वर्षमुनिको युवा कोटामा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्। उनले ‘कांग्रेसलाई युवा अनुकूल बनाऔँ’ भन्ने नारासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।

लामो समयदेखि विद्यार्थी राजनीति तथा पार्टीको संगठन विस्तारमा सक्रिय रेग्मी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वकेन्द्रीय सदस्यसमेत हुन्। क्याम्पसको इकाइदेखि केन्द्रीय तहसम्मको राजनीतिक अनुभव हासिल गरेका उनले पार्टीभित्र युवा सहभागिता, संगठन सुदृढीकरण र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएका छन्।

रेग्मीलाई कांग्रेसभित्र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमसम्बन्धी प्रशिक्षकका रूपमा पनि चिनिन्छ। नेविसंघ तथा नेपाली कांग्रेसका विभिन्न कार्यक्रममार्फत देशका विभिन्न जिल्लामा पुगेर उनले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, फेक न्युज र ट्रोलबाट जोगिने उपाय तथा डिजिटल माध्यमबाट संगठनलाई बलियो बनाउने विषयमा प्रशिक्षण दिँदै आएका छन्।

आफ्नो उम्मेदवारीलाई उनले बदलिँदो राजनीतिक परिवेश र नयाँ पुस्ताको अपेक्षासँग कांग्रेसलाई जोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

‘अबको कांग्रेस भाषणले मात्र होइन, कन्टेन्टले पनि चल्नुपर्छ। हाम्रो पुस्ताले डिजिटल प्लेटफर्मबाट कांग्रेसलाई बुझ्छ। त्यही माध्यममार्फत कांग्रेसको इतिहास, विचार र भविष्यलाई युवामाझ जोड्नु मेरो उद्देश्य हो,’ रेग्मीले भने।

युवा पुस्तालाई पार्टीको मूलधारमा थप प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै रेग्मीले प्रविधिमैत्री संगठन निर्माण, युवाको सहभागिता विस्तार र पुस्ताबीचको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

लुम्बिनी प्रदेशका युवा कार्यकर्तामाझ उनको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। रेग्मीले आफूलाई नयाँ पुस्ता र पार्टीको परम्परागत राजनीतिक अभ्यासबीचको सेतुका रूपमा प्रस्तुत गर्दै केन्द्रीय तहमा युवाको आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित