पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना सम्बन्धी बैठक बुधबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा पालिकाको पोषण अवस्थाबारे छलफल गर्दै कुपोषण न्यूनीकरणका लागि थप प्रभावकारी रूपमा काम गर्नुपर्ने कुरामा जोड दिइएको थियो।
बैठकमा बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोख्रेलले प्रतापपुर गाउँपालिकाको पोषण अवस्थाबारे प्रस्तुतीकरण गर्दै प्रतापपुर गाउँपालिकामा पाँच वर्षमुनिका २ हजार ९ सय ५४ जना बालबालिकामा गरिएको पोषण जाँचको क्रममा ३६ जना बालबालिकामा कडा कुपोषण र ४ सय ६८ जनामा मध्यम कुपोषण देखिएको जानकारी दिनुभयो।
त्यसैगरी बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाको संख्या पनि न्यून रहेको विषयमा जानकारी गराइएको थियो।
पोषण सुधारका लागि बेस नेपालले प्रतापपुर गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि बताइएको छ। 
कडा कुपोषण भएका बालबालिकाको उपचार तथा पोषण सुधारका लागि खाद्य सामग्री हस्तान्तरण लगायतका कार्यक्रम समेत सञ्चालन भइरहेको कार्यक्रम संयोजक पोख्रेलले बताउनुभयो।
एकीकृत हातेमालो समाज नेपाल ‘सियान’ का कृषि तथा बजार सुदृढीकरण अधिकृत दिनेश शर्माले प्रतापपुर गाउँपालिकाका वडा नम्बर ५ र ६ मा पोषण सुधारका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभएको थियो।
परियोजनाले पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, सीमान्तकृत समुदाय र कुपोषित बालबालिकाका परिवारलाई लक्षित गरी पोषण, स्वास्थ्य, कृषि, स्वच्छ खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गरिरहेको पनि उहाँले बताउनुभयो।
परियोजनाअन्तर्गत पोषिलो कृषि उपज उत्पादन र बजारीकरण,पोषिलो खाना खान प्रेरित गर्ने, स्वच्छ खानेपानी तथा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्ने र बालबालिकाको स्वास्थ्यमा ध्यान दिने बारे कार्यक्रममा बताइएको थियो।
बैठकमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बालबालिका भोलिका कर्णधार भएकाले आमाको गर्भदेखि नै उनीहरूको स्वास्थ्य र पोषणमा ध्यान दिनुपर्ने बताउदै गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिका अर्थात् सुनौला एक हजार दिनका आमा र शिशुको पोषण अवस्था सुधार गर्न स्थानीय खाद्यवस्तुको प्रवर्द्धन, व्यवहार परिवर्तन र आवश्यक स्वास्थ्य सामग्री वितरणलाई प्राथमिकता दिनुपर्ने यादवको भनाइ थियो।
अध्यक्ष यादवले विकास भनेको सडक, पुल र भवन निर्माण मात्र नभएको भन्दै भौतिक पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा, पोषण लगायतका क्षेत्रको समान विकास आवश्यक रहेको जिकिर गर्नुभयो।
बैठकमा वडा अध्यक्ष तथा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र विभिन्न विषयगत शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको फिल्ड कार्यक्रम अधिकृत कृषि तथा पोषणका केदार घिमिरेले जानकारी दिनुभयो।
समुदाय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै कुपोषणमुक्त समाज निर्माणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको फिल्ड कार्यक्रम सुपरभाइजर (वास) साइदा निशा पठानले जानकारी दिनुभएको छ।
बैठकमा बेस नेपालका कार्यक्रम संयोजक शालिकराम पोख्रेलले स्वागत गर्नुभएको थियो भने प्रतापपुर स्वास्थ्य चौकीका प्रमुख सञ्जय कुमार शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

