राष्ट्रिय दैनिक /नवलपरासी,१३ असाेज ।
बहुक्षेत्रीय पोषण योजना (MNSP) सम्बन्धी ज्ञान आदानप्रदान तथा कार्यक्रम समायोजनका लागि स्थानीय तहस्तरीय बैठक पश्चिम नवलपरासीका सरावल र सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ।
पोषणमार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत एकीकृत हातेमालो समाज नेपाल (SIAN) तथा बेस नेपालमार्फत सञ्चालित परियोजनाले सरावल र सुस्ता गाउँपालिकामा सञ्चालन गरेका विभिन्न कार्यक्रम, गतिविधि तथा हालसम्म हासिल गरेका उपलब्धिबारे स्थानीय तहका जनप्रतिनिधि तथा शाखा प्रमुखहरूलाई जानकारी गराइएको थियो।

बैठकमा परियोजनाले पोषण सुधार, कृषि, उत्पादन, बजार व्यवस्थापन, समुदायस्तरमा जनचेतना अभिवृद्धि तथा पोषणसँग सम्बन्धित विभिन्न क्षेत्रमा गर्दै आएका कामका विषयमा जानकारी प्रस्तुत गरिएको थियो। परियोजनामार्फत भएका गतिविधिबाट समुदायमा परेको प्रभाव, प्राप्त उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा बेस नेपालका कार्यक्रम संयोजक सालिकराम पोख्रेलले परियोजनाको उद्देश्य, सञ्चालन प्रक्रिया तथा स्थानीय तहसँगको समन्वयका विषयमा जानकारी गराउनुभएको थियो। त्यस्तै एकीकृत हातेमालो समाज नेपाल (SIAN) का सिनियर कृषि, पोषण तथा बजार सुदृढीकरण अधिकृत दिनेश शर्माले कृषि, पोषण र बजारसँग सम्बन्धित विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

बैठकमा IDE नेपालका कार्यक्रम अधिकृत दिपेन्द्र भुजेल, सिनियर तथ्यांक अधिकृत मीन राना, फिल्ड प्रोग्राम अफिसर दिनेश सिग्देल तथा रमाशंकर पाण्डेय लगायतको सहभागिता रहेको थियो।
सरावलमा परियोजनाका काम र उपलब्धिबारे छलफल
सरावल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन, निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेय, स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटा, वडा अध्यक्षहरू तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सरावल गाउँपालिकामा परियोजनामार्फत सञ्चालन गरिएका गतिविधि, समुदायस्तरमा भएका काम तथा हासिल भएका उपलब्धिबारे जानकारी गराइएको थियो। साथै परियोजनाका आगामी कार्यक्रमलाई गाउँपालिकाका नीति, योजना तथा वार्षिक कार्यक्रमसँग समायोजन गर्दै प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो।
सुस्तामा पनि परियोजनाका उपलब्धि प्रस्तुत
त्यसैगरी सुस्ता गाउँपालिकामा पनि परियोजना सञ्चालन हुँदै आएको जनाउँदै परियोजनामार्फत भएका काम तथा उपलब्धिबारे स्थानीय तहका पदाधिकारी र सम्बन्धित शाखाका प्रतिनिधिलाई जानकारी गराइएको थियो।

सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा उपाध्यक्ष गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मी तथा कृषि शाखा प्रमुख शनत गिरी वडा अध्यक्षहरू तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा परियोजनाले कृषि तथा पोषणलाई जोड्दै समुदायमा सञ्चालन गरेका कार्यक्रम, बजार व्यवस्थापन तथा पोषणसम्बन्धी गतिविधिबाट प्राप्त उपलब्धि र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।

परियोजना सञ्चालन भएका दुवै पालिकामा स्थानीय सरकार र परियोजना सञ्चालन गर्ने संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै उपलब्ध कार्यक्रमलाई स्थानीय तहको योजनासँग जोडेर अघि बढाउने विषयमा समेत जोड दिइएको थियो।

बहुक्षेत्रीय पोषणको अवधारणाअनुसार पोषणलाई स्वास्थ्यसँग मात्र सीमित नराखी कृषि, खाद्य, बजार, शिक्षा, सरसफाइ तथा समुदायको जीवनशैलीसँग जोडेर काम गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

