Rashtriya Dainik

धोबीनी–५ मा ६२ वर्षीया महिलाको हत्या आरोपमा तीन जना पक्राउ

राजन कुमार बानिया
पर्सा, ११ असोज
पर्साको धोबीनी गाउँपालिका–५ मा ६२ वर्षीया महिलाको हत्या गरी घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जना १८ वर्षीय युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय चन्दन कुमार पटेल, रामु पासवान र ‘घलथरिया’ भनिने राज कपुर बैठा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले असोज ४ गते राति चोरी गर्ने योजना बनाई करिब राति २ः३० बजे घरको पछाडिबाट माथिल्लो तलामा प्रवेश गरेका थिए।
घरभित्र दराज र टिनको बाकसको ताल्चा फुटाउने क्रममा आवाज सुनेर लखरजिया देवी माथिल्लो तलामा पुगेपछि आफूहरूको पहिचान खुल्ने डरले महिलामाथि आक्रमण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले घरबाट गहना तथा नगद लिएर फरार भएको प्रहरीको भनाइ छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले चन्दन कुमार पटेलको घरबाट सुनजस्तो देखिने दुई थान चुरा, चोरीको रकमबाट तिरिएको भनिएको ३ हजार रुपैयाँ तथा राज कपुर बैठाको साथबाट ७५० रुपैयाँ बरामद गरेको जनाएको छ।
त्यस्तै, घटनास्थलबाट पिलास, चक्कु, गाडीको स्प्रिङ पत्ता तथा फुटप्रिन्ट समेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न अन्य पक्ष तथा चोरी भएको सम्पत्तिबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित