Rashtriya Dainik

कार्य पूरा गर्दै हो कि बाध्यता ? कृष्णनगरमा नाली सरसफाइ र सडकबत्ती व्यवस्थापनप्रति स्थानीयको गुनासो

सुधांशु गिरी / कृष्णनगर, असोज १

कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ नैमिया मस्जिदको पछाडि तथा अल हुदा इङ्लिस बोर्डिङ नजिक रहेको नाली लामो समयदेखि फोहोर र पानी जम्ने समस्याले स्थानीयलाई सास्ती भएको छ।
नाली सफा नहुँदा दुर्गन्ध फैलिनुका साथै आसपासका बासिन्दा तथा विद्यालय आवतजावत गर्ने विद्यार्थीसमेत प्रभावित हुँदै आएका छन्। स्थानीयका अनुसार लामो समयदेखि फोहोर उठाउने गाडी, सडकमा कुचो लगाउने कर्मचारी तथा नाली सफा गर्ने जनशक्ति नियमित रूपमा नआउँदा समस्या थपिएको हो।
स्थानीयले पटक–पटक कृष्णनगर नगरपालिका कार्यालयमा पुगेर सरसफाइको माग गर्दै आएको भए पनि करिब एक महिनापछि मात्रै असोज १ गते नगरपालिकाका सफाइकर्मी आएर उक्त नाली सफा गरेको स्थानीयले बताएका छन्।
स्थानीयहरूका अनुसार नगरपालिकाले बजार क्षेत्रमा सडक, नाली तथा सडकका किनार र बीच भागमा सडकबत्ती जडानलगायतका संरचना निर्माण गरे पनि त्यसको नियमित व्यवस्थापन तथा सरसफाइमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन।
विशेषगरी वर्षायाममा कृष्णनगर बजारभित्र निर्माण गरिएका नयाँ नालीबाट समेत पानी सडक तथा आसपासका क्षेत्रमा बग्ने गरेको स्थानीयको गुनासो छ। नाली निर्माणसँगै त्यसको नियमित सफाइ र पानी निकासको उचित व्यवस्थापन हुन नसक्दा वर्षाको समयमा थप समस्या हुने गरेको उनीहरूको भनाइ छ।
यस्तै, बजार क्षेत्रमा जडान गरिएका नयाँ सडकबत्तीसमेत सञ्चालनमा आएको एक महिना नबित्दै धेरैजसो बिग्रिएको अवस्थामा देखिन थालेको स्थानीयले बताएका छन्। सडकबत्ती बिग्रिँदा रातको समयमा बजार क्षेत्रको आवतजावत तथा सुरक्षामा समेत असर पर्ने गरेको उनीहरूको भनाइ छ।
स्थानीयले विकास निर्माणसँगै त्यसको नियमित अनुगमन, मर्मतसम्भार र व्यवस्थापनमा पनि नगरपालिकाले ध्यान दिनुपर्ने माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित