Rashtriya Dainik

राजविराज अस्पतालको गेटमै प्रसूति प्रकरण : ६ कर्मचारी कामकाजबाट हटाइए

राष्ट्रिय दैनिक /राजविराज ,२६ भदौ ।

सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटनापछि अस्पतालले ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।

भदौ २५ गते सामाजिक सञ्जालमा अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। उक्त घटनाप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पताल प्रशासनले सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेको हो।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जारी गरेको पत्रमा घटनाको छानबिनका लागि अस्पतालले छानबिन समिति गठन गरेको उल्लेख छ। साथै, घटनाको छानबिनका लागि गठन गरिएका अन्य समितिहरूको समेत अन्तिम प्रतिवेदन प्राप्त नभइसकेको अवस्थामा सम्बन्धित कर्मचारीलाई कामकाजबाट हटाइएको जनाइएको छ।

कामकाजबाट हटाइनेमा डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, कार्यालय सहयोगी (का.स.) रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर र सुरक्षा गार्ड देवकान्त झा रहेका छन्।

अस्पताल प्रशासनले छानबिन समितिको अन्तिम प्रतिवेदन प्राप्त भएपछि घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

अस्पतालको मूल गेटमै प्रसूति भएको भिडियो सार्वजनिक भएपछि अस्पतालको सेवा व्यवस्थापन, बिरामीप्रतिको जिम्मेवारी र आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीको भूमिकामाथि प्रश्न उठेको थियो। सोही घटनालाई लिएर अस्पताल प्रशासनले आन्तरिक छानबिन अघि बढाएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित