Rashtriya Dainik

सीमावर्ती महेशपुरमा ६ फिट अग्लो हनुमान मूर्ति स्थापना

बिनोद निगम / नवलपरासी ,१६ भदौ

भारतसँग जोडिएको पश्चिम नवलपरासीको महेशपुर नाकामा ६ फिट अग्लो भगवान हनुमानको मूर्ति स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रमा धार्मिक आस्था, सनातन संस्कृति तथा सामाजिक एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले पालीनन्दन गाउँपालिकाको सहयोगले हनुमानको मूर्ति स्थापना गरिएको स्थानीय हरि बहादुर साहनीले जानकारी दिनुभयो।

पाल्हिनन्दन गाउँपालिका वडा नं १ महेशपुर नाकामा आयोजित मूर्ति स्थापना कार्यक्रममा विश्व हिन्दू परिषद् राष्ट्रिय सचिव राजन प्रसाद उपाध्यायलगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

मूर्ति स्थापना कार्यक्रममा महेशपुरका सनातनी हिन्दू समुदाय, स्थानीय युवा, महिला तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। धार्मिक विधिअनुसार हनुमानको मूर्ति स्थापना गरिएपछि सहभागीहरूले पूजा–आराधना तथा धार्मिक गतिविधिसमेत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि कँडेलले रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्नुभयो। उहाँले प्राकृतिक विपद्का कारण ठूलो क्षति भएको अवस्थामा पीडित परिवारलाई सहयोग, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

स्थानीयवासीका अनुसार महेशपुर नेपाल–भारत सीमासँग जोडिएको महत्वपूर्ण नाका भएकाले यहाँ धार्मिक तथा सांस्कृतिक गतिविधिले स्थानीय समुदायबीच आपसी सद्भाव र एकता कायम गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा टेन्नी निगम, बिरेन्द्र गुप्ता, दुर्गा जयसवाल, काजु निगम, कार्यक्रम सञ्चालक राहुल राज निगम, उपेन्द्र गुप्ता, हेमन्त कानु, धर्मेन्द्र मौर्य, सोनु रौनियार,पत्रकार जितेन्द्र गुप्त लक्ष्मीप्रसाद हरिजन लगायतका युवाहरूको सहभागिता रहेको थियो।

स्थानीय युवा, महिला तथा सनातनी हिन्दू समुदायको सहभागितामा सम्पन्न मूर्ति स्थापना कार्यक्रमले महेशपुर क्षेत्रमा धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित