Rashtriya Dainik

शवको चाङ, सीमित जनशक्ति : परासी अस्पतालमा पहिचान र व्यवस्थापनको सकस

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ भदौ

रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि पश्चिम नवलपरासीमा भेटिएका शवको संख्या बढ्दै जाँदा पहिचान तथा व्यवस्थापनमा चुनौती थपिएको छ। सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा एकैपटक ठूलो संख्यामा शव ल्याइएपछि अस्पतालको सीमित संरचना र जनशक्तिमाथि चाप बढेको हो।

शवको पहिचानका लागि चिकित्सकसहितको टोली निरन्तर खटिए पनि पोस्टमार्टमका लागि आवश्यक प्राविधिक जनशक्ति पर्याप्त नहुँदा प्रक्रिया प्रभावित भएको छ। अस्पतालमा हाल दुई जना मात्रै पोस्टमार्टम प्राविधिक रहेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बृज यादवका अनुसार प्राविधिकले आवश्यक नमुना तथा अंग संकलन गरेपछि चिकित्सकहरूले डीएनए परीक्षणलगायतको प्रक्रिया अघि बढाइरहेका छन्। पाँच जना चिकित्सक शवको पहिचानका लागि परीक्षणमा खटिएका छन्।

शव भेटिने क्रम अझै जारी रहेकाले अस्पतालमा स्थानको अभावसमेत देखिएको छ। लामो समयसम्म शव राख्नुपर्ने अवस्था आएपछि दुर्गन्ध फैलिन थालेको छ। अस्पतालले तत्काल वैकल्पिक स्थानको व्यवस्था गर्नुका साथै थप प्राविधिक जनशक्ति उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याएको छ।


यसैबीच शव व्यवस्थापनको अवस्थाबारे निरीक्षण गर्न पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव राख्ने तथा व्यवस्थापन गर्ने थप स्थानको खोजी भइरहेको बताएका छन्। उनले पहिचान र व्यवस्थापनको काम छिटो अघि बढाउन आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसोसम्म पश्चिम नवलपरासीमा फेला परेका १ सय ७३ शवमध्ये ६८ शवको व्यवस्थापन भइसकेको छ। शव व्यवस्थापनका लागि सुनवल नगरपालिका–४ स्थित अलकत्रा डाँडालाई प्रयोग गरिएको छ।
बाढी प्रभावित क्षेत्रबाट फेला परेका शवमध्ये केहीलाई पृथ्वीचन्द्र अस्पतालसँगै भैरहवा, बुटवल र कपिलवस्तुका अस्पतालमा समेत पठाइएको छ।

ठूलो विपत्तिपछि एकैपटक बढेको शवको संख्या, सीमित प्राविधिक जनशक्ति र पर्याप्त स्थानको अभावले नवलपरासीमा शव व्यवस्थापन मात्र होइन, मृतकको पहिचान र आफन्तलाई शव बुझाउने प्रक्रिया नै चुनौतीपूर्ण बन्दै गएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित