राष्ट्रिय दैनिक / नवलपरासी ,१६ भदौ
रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव पश्चिम नवलपरासीको रामग्रामस्थित पृथ्वीचन्द्र अस्पतालमा राखी पहिचान तथा व्यवस्थापनको काम भइरहेको छ।
पृथ्वीचन्द्र अस्पतालले भदौ १५ गते सूचना जारी गर्दै बाढीमा मृत्यु भएका व्यक्तिहरूका शव Mass Casualty Management अन्तर्गत Disaster Victim Identification (DVI) प्रक्रियाका लागि अस्पतालमा राखिएको जनाएको छ। केही शव लामो समयदेखि शवगृहमा राखिएका कारण दुर्गन्ध फैलिन सक्ने अवस्था रहेकाले अस्पताल आसपासको समुदाय तथा सर्वसाधारणलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको हो।
अस्पतालका अनुसार शव पहिचान तथा व्यवस्थापनको काम आवश्यक स्वास्थ्य, सुरक्षा र मानवीय संवेदनशीलता कायम गर्दै सम्बन्धित निकायको समन्वयमा भइरहेको छ।
अस्पतालले दुर्गन्ध तथा सम्भावित संक्रमणबाट बच्न मास्क प्रयोग गर्न, उमालेर वा सुरक्षित प्रशोधित पानी मात्र पिउन, खाना खानुअघि तथा शौचालय प्रयोग गरेपछि साबुनपानीले हात राम्ररी धुन आग्रह गरेको छ।
त्यस्तै फोहोर तथा दूषित पानीको सम्पर्कबाट सकेसम्म टाढा रहन, सम्भावित सरुवा रोग फैलिन नदिन व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिन र शवगृह तथा प्रभावित क्षेत्र आसपास अनावश्यक भीडभाड नगर्न अस्पतालले अनुरोध गरेको छ।
अस्पताल प्रशासनले शव पहिचान तथा व्यवस्थापनको कार्य आवश्यक स्वास्थ्य, सुरक्षा र मानवीय संवेदनशीलता कायम गर्दै अघि बढिरहेको भन्दै समुदायमा पर्न सक्ने असहजताप्रति क्षमायाचना समेत गरेको छ। सर्वसाधारणलाई संयमित भई आवश्यक स्वास्थ्य सावधानी अपनाउन अस्पतालले आग्रह गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

