Rashtriya Dainik

पृथ्वीचन्द्र अस्पतालमा शव व्यवस्थापन चुनौती, दुर्गन्धले बिरामीदेखि स्थानीयसम्म प्रभावित

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ भदौ

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी हुँदै पश्चिम नवलपरासीको गण्डक क्षेत्रमा फेला परेका शवको संख्या बढ्दै जाँदा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । शवको संख्या बढेपछि अस्पताल परिसर र आसपासको बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले व्यापक जनगुनासो गरेका छन् ।

गण्डक क्षेत्रमा बाढीपछि लगातार शव फेला पर्ने क्रम जारी छ । विभिन्न स्थानबाट ल्याइएका शवमध्ये कतिपय पृथ्वीचन्द्र अस्पतालमा पोस्टमार्टम तथा पहिचानका लागि राखिएका छन् । शव राख्ने क्षमता सीमित भए पनि दैनिकजसो नयाँ शव थपिँदा व्यवस्थापनमा कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा राखिएका कतिपय शव सडेर दुर्गन्धित हुन थालेपछि त्यसको प्रत्यक्ष असर अस्पतालसँगै आसपासका बस्ती र विद्यालयमा समेत परेको छ । पृथ्वीचन्द्र अस्पतालको शवगृहको पछाडिपट्टि रहेको रामग्राम स्कुलमा समेत दुर्गन्धका कारण पठनपाठन प्रभावित भएपछि सोमबार बिहान ११ बजे नै विद्यालय बिदा गरिएको जनाइएको छ ।
शवबाट फैलिएको दुर्गन्धका कारण विद्यार्थी तथा शिक्षकलाई विद्यालयमा बस्न असहज भएपछि नियमित समयअघि नै विद्यालय बिदा गर्नुपरेको बताइएको छ ।

अस्पतालका अनुसार शवगृहमा करिब ७ वटा शव मात्र राख्न सक्ने क्षमता छ । तर अहिले क्षमताभन्दा धेरै शव व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको छ । केही शव लामो समयदेखि राखिएका कारण सडेर दुर्गन्धित हुन थालेका छन् । प्याक गरेर राखिए पनि दुर्गन्ध पूर्णरूपमा नियन्त्रण गर्न कठिन भइरहेको अस्पताल पक्षको भनाइ छ ।

दुर्गन्धका कारण अस्पतालमा उपचारका लागि आउने बिरामी, स्वास्थ्यकर्मी तथा आसपासका बस्तीका नागरिकसमेत प्रभावित भएका छन् । विशेषगरी अस्पतालसँग जोडिएको बस्तीमा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले तत्काल वैकल्पिक व्यवस्थापनको माग गरेका छन् ।

‘हरेक दिन शव थपिँदा व्यवस्थापन गर्न कठिन’

पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बृज यादवका अनुसार बाढीपछि ठूलो संख्यामा शव अस्पतालमा ल्याइएकाले व्यवस्थापनमा जटिलता उत्पन्न भएको हो ।
उहाँका अनुसार शव पोस्टमार्टम तथा पहिचानका लागि राखिएको र लगातार नयाँ शव फेला परिरहेकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ । केही शव सडिसकेको अवस्थामा पुगेकाले पोस्टमार्टम गर्नसमेत चुनौती भएको उहाँले बताउनुभयो ।
पोस्टमार्टम तथा शव पहिचानका लागि विज्ञ चिकित्सकहरू परिचालन गरिएको अस्पतालले जनाएको छ । तर, शवको संख्या ठूलो हुनुका साथै अवस्था बिग्रिँदै गएकाले काम थप जटिल बनेको अस्पताल पक्षको भनाइ छ ।

अस्पताल विकास समिति : ‘समस्या जटिल छ, काम भइरहेको छ’

पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीशप्रसाद चौधरीले शव व्यवस्थापनमा समस्या रहेको स्वीकार गर्दै आवश्यक व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा शव राख्ने पूर्वाधार सीमित रहेको र बाढीपछि अपेक्षाभन्दा धेरै शव आउन थालेकाले समस्या सिर्जना भएको हो । शवलाई सुरक्षित रूपमा राख्ने, पोस्टमार्टम गर्ने तथा पहिचानको प्रक्रिया अगाडि बढाउने काम भइरहेको उहाँले बताउनुभयो ।
अस्पताललाई शव व्यवस्थापनको जिम्मेवारी दिइए पनि उपलब्ध पूर्वाधार र क्षमताका कारण समस्या थपिएको अध्यक्ष चौधरीको भनाइ छ ।

स्थानीयको प्रश्न– ‘बस्तीको बीचमा शव राखेर कहिलेसम्म?’
यता रामग्राम नगरपालिका–३ का स्थानीयवासीले भने शव व्यवस्थापनमा तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।
अस्पताल नजिकै बस्ती रहेको अवस्थामा शव सडेर दुर्गन्ध फैलिन थालेपछि स्वास्थ्य तथा वातावरणीय जोखिम बढ्न सक्ने भन्दै स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयको प्रश्न छ, ‘अस्पतालको शवगृहको क्षमता सीमित छ भने वैकल्पिक व्यवस्थापनको व्यवस्था किन गरिएन ?’
उनीहरूले शवको पहिचान र पोस्टमार्टम प्रक्रिया प्रभावित नहुने गरी वैज्ञानिक र सुरक्षित ढंगबाट शव व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

१५७ शव फेला, अझै ठूलो संख्या व्यवस्थापनको पर्खाइमा

बाढीपछि गण्डक क्षेत्रमा फेला परेका शवको संख्या ठूलो छ । हालसम्म गण्डक क्षेत्रमा १५७ वटा शव फेला परेको जनाइएको छ । तीमध्ये रुपन्देही, कपिलवस्तु र पाल्पालगायतका जिल्लामा शव पठाइएको हाे।

हाल पृथ्वीचन्द्र अस्पतालमा रहेका करिब ९६ शव व्यवस्थापन तथा पहिचानको प्रक्रियामा रहेको जनाइएको छ ।
बाढीमा आफन्त गुमाएका परिवारका लागि शवको सुरक्षित संरक्षण, पोस्टमार्टम, डीएनए परीक्षण र पहिचान अत्यन्त संवेदनशील विषय हो । त्यसैले अस्पतालको सीमित क्षमतामाथि मात्र निर्भर नभई जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय र स्वास्थ्य संस्थाबीच तत्काल समन्वय गरी वैकल्पिक शव व्यवस्थापन केन्द्र तथा आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने देखिएको छ ।

बाढीपछि उद्धारसँगै शव व्यवस्थापन पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पाटो हो । शवको संख्या बढ्दै जाने तर व्यवस्थापनको क्षमता नबढ्ने हो भने आगामी दिनमा समस्या अझ जटिल बन्न सक्ने देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित