Rashtriya Dainik

अनिल शर्माद्वारा सरकारलाई खबरदारी : किसानलाई मल, विकासमा गुणस्तर र सुस्तामा ध्यान देऊ

राष्ट्रिय दैनिक / नवलपरासी ,१ भदौ

किसानको रासायनिक मल अभावदेखि सुस्ताको सीमा तथा भूमिसम्बन्धी समस्यासम्मका जनसरोकारका विषयमा संस्कृति सम्पदा संरक्षण महाअभियानले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

परासीमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक अनिल शर्माले किसानले खेती गर्ने समयमा नै मल, बीउ र सिँचाइ नपाउने अवस्था अन्त्य गर्न सरकारसँग माग गरे। कृषि उत्पादनको लागत बढ्दै गएको अवस्थामा किसानले उत्पादनको उचित मूल्यसमेत नपाउने समस्या समाधानका लागि प्रभावकारी कृषि नीति आवश्यक रहेको उनको भनाइ थियो।

महाअभियानले सरकारी बजेटबाट सञ्चालित विकास निर्माणका योजनामा लागत, परिमाण र गुणस्तर पारदर्शी बनाउनुपर्नेमा जोड दिएको छ। निर्माणाधीन योजनाको नियमित अनुगमन तथा प्राविधिक परीक्षण गरी सार्वजनिक स्रोतको दुरुपयोग रोक्नुपर्ने मागसमेत गरिएको छ।

त्यस्तै, सुस्ताको सीमा तथा भूमिसम्बन्धी समस्या राजनीतिक नारामा सीमित नगरी उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने महाअभियानले जनाएको छ। सुस्ताबासीको सुरक्षा, नागरिक अधिकार र जीवनस्तर सुधारका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने संयोजक शर्माले बताए।

सवारीसाधन नवीकरण, सिफारिसलगायतका सामान्य प्रशासनिक सेवा वडा तहबाटै सहज रूपमा उपलब्ध गराई नागरिकले सेवा लिनकै लागि अनावश्यक समय र खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

महाअभियानले सरकार र जनप्रतिनिधिलाई मात्र दोष दिएर नागरिकको दायित्वबाट पन्छिन नहुने स्पष्ट पारेको छ। आफ्नो टोल, वडा र नगरको सरसफाइ, विकास तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा नागरिक स्वयं पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

शिक्षा, स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय हित, सीमा सुरक्षा तथा नागरिक अधिकार संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने संयोजक शर्माको भनाइ छ। जनसरोकारका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्दै सकारात्मक सुधारका लागि महाअभियानले आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित