Rashtriya Dainik

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसाैनी /४ साउन

सखुवाप्रसौनी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साको समन्वय तथा सहकार्यमा सञ्चालन हुने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम को समुद्घाटन सोमबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष जस्वन्त यादवले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विपद्को समयमा दक्ष जनशक्ति तयार गर्नु वर्तमान आवश्यकता रहेको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय तहको विपद् व्यवस्थापन क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतारेर समुदायको सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका एसपी मोहनबहादुर क्षेत्रीले प्राकृतिक तथा मानवीय विपद्का घटनामा खोज, उद्धार, प्राथमिक उपचार र राहत व्यवस्थापनका लागि प्रशिक्षित स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। अनुशासन, समन्वय र व्यावहारिक अभ्यासमार्फत सहभागीहरूलाई दक्ष बनाइने उल्लेख गर्दै उहाँले यस तालिमले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार, सामाजिक विकास प्रमुख विनोद यादव, प्रशासन शाखा प्रमुख अरविन्द ठाकुर लगायत जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।आयोजकका अनुसार गाउँपालिकाका बारुणयन्त्र (दमकल) का कर्मचारीहरूलाई १८ दिनसम्म विपद् व्यवस्थापन, खोज तथा उद्धार, प्राथमिक उपचार, राहत व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।

तालिमबाट विपद्को समयमा प्रभावकारी सेवा प्रवाह गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित