राष्ट्रिय दैनिक / नवलपरासी , १५ असार।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा स्थानीय पर्यटकीय, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले ललितकला प्रदर्शनी–२०८३ सम्पन्न भएको छ।

सरावल गाउँपालिकाको आयोजनामा तथा बि.के. आर्ट ग्यालेरी, काठमाडौंको समन्वयमा आयोजित प्रदर्शनीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय चित्रकारका सिर्जनाहरू एकै स्थानमा अवलोकन गर्न पाइएको थियो।

प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले कला समाजको ऐना मात्र नभई इतिहास, संस्कृति र पहिचान जोगाउने सशक्त माध्यम भएको बताउनुभयो। यस्ता सिर्जनात्मक कार्यक्रमले सरावलको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कला संरक्षण र प्रवर्द्धनमा गाउँपालिका निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै उपाध्यक्ष बासमती हरिजनले स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्नुका साथै आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो।

त्यस्तै कलाकार मन गोल्डी, नरबहादुर बि.के., कलाकार एच.बी. रमतेल लगायतले कला, संस्कृति, ऐतिहासिक सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ललितकलाको भूमिकाबारे विचार व्यक्त गर्नु भएको थियो ।

प्रदर्शनीमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय चित्रकारहरूको उल्लेखनीय सहभागिता रहेको बरिस्ठ चित्रकार नर बहादुर बि.क ले जानकारी दिनुभयो । विभिन्न विद्यालयका विद्यार्थीहरूले चित्रहरूको अवलोकन गर्नुका साथै आफ्ना कलात्मक सिर्जना पनि प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ जीवन्त र उत्साहपूर्ण बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रारम्भ वरिष्ठ लेखा अधिकृत नारायण पाण्डेयको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन बाल सहजकर्ता सञ्जय मौर्यले गर्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, कलाकार, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा भारतका चर्चित कलाकार सर्फुद्दिन अहमद लगायतका कलाकारहरू सहभागिता रहेको नवलपरासी कमर्सियल आर्टिट संघका सचिव धर्मेन्द्र चाैधरीले जानकारी दिनुभयाे । प्रदर्शनीमा सहभागी सबै ९ जना कलाकारलाई गाउँपालिकाको तर्फबाट सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

आयोजकका अनुसार यस्ता प्रदर्शनीले सरावलको कला, संस्कृति र सम्पदालाई व्यापक रूपमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। साथै स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र कलाकारलाई प्रोत्साहन गर्ने अभियानमा यो कार्यक्रम कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

