Rashtriya Dainik

हिलोमा एकता, खेतमा संस्कृति : क्षत्री समाज सुनवलको धान रोपाइँमा राष्ट्रिय सद्भावको सन्देश

मिना के.सी/ नवलपरासी ,१५ असार

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसर पारेर क्षत्री समाज नेपाल, सुनवल नगर कार्य समितिले परम्परा, संस्कृति र सामाजिक एकतालाई जोड्ने उद्देश्यसहित विशेष धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ।

“राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षेत्रीय एकता आजको आवश्यकता” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न सामाजिक व्यक्तित्व, युवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले खेतमै उत्रिएर सामूहिक रूपमा धान रोपे, दही–चिउरा खाए र नेपाली कृषि संस्कृतिप्रतिको सम्मान व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष लेख बहादुर कार्कीले यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिले समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

क्षत्री समाज नेपाल, सुनवल नगर कार्य समितिका अध्यक्ष गुप्त बहादुर केसीले असार १५ नेपाली किसानको श्रम, कृषि संस्कृति र मौलिक परम्परासँग गाँसिएको महत्वपूर्ण पर्व भएकाले नयाँ पुस्तालाई कृषि र संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

यसैगरी, क्षेत्री समाज नवलपरासीका अध्यक्ष मनोज कुमार कार्कीले हिलोमा रमाउँदै गरिएको धान रोपाइँले आपसी भाइचारा, सद्भाव र सहकार्यको सन्देश फैलाएको उल्लेख गर्नुभयो।

सहभागीहरूले यस्ता कार्यक्रमले किसानप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक संस्कृति, सामाजिक एकता र सामुदायिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित