Rashtriya Dainik

सांसद शाक्यद्वारा प्राकृतिक विपत्तिपीडित कुमारी सुनारलाई घर हस्तान्तरण

राजन कुमार बानिया /पर्सा ,१४ असार

प्राकृतिक विपत्तिका कारण घरबारविहीन बनेकी ठोरी गाउँपालिका–१, भगवाननगर निवासी कुमारी सुनार लाई स्थानीय समुदाय, विभिन्न दाताहरू तथा सहयोगीहरूको सामूहिक प्रयासबाट निर्माण गरिएको नयाँ घर आइतबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको छ ।

घर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्य ले रिबन काटेर तथा शिलालेखको अनावरण गर्दै नवनिर्मित घरको उद्घाटन गर्नुभयो । त्यसपछि उहाँले घरको साँचो कुमारी सुनारलाई हस्तान्तरण गर्नु भयो
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले घर निर्माण अभियानमा दिनरात नभनी खटिनुहुने उदय थापा तथा आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले डेढुखोला पुल निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अब छिट्टै सम्पन्न गरी निर्माण कार्यलाई ठेक्का प्रक्रियामा अगाडि बढाइने जानकारी दिनुभयो ।

उक्त पुल निर्माण गर्न नसके सांसद पदबाट राजीनामा दिनेसम्मको आफ्नो सार्वजनिक प्रतिबद्धता दोहोर्‍याउँदै डेढुखोलाको पुल जसरी भए पनि निर्माण गरेरै छाड्ने विश्वास जनतालाई दिलाउनुभयो । साथै, उहाँले इच्छानगर जोड्ने पुल आगामी आर्थिक वर्षको प्रमुख प्राथमिकतामा रहने बताउनुभयो । आफ्नो पाँचवर्षे कार्यकालमा ठोरीको समग्र पूर्वाधार विकासले उल्लेखनीय गति लिने विश्वास व्यक्त गर्दै जनतासँग गरेका विकाससम्बन्धी प्रतिबद्धता पूरा गरेरै छाड्ने आश्वासन पनि दिनुभयो ।
घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सन्तोष श्रेष्ठले घर निर्माणमा कुल रु. २ लाख २५ हजार खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चन्दास्वरूप रु. १ लाख ५० हजार मात्र सहयोग प्राप्त भएकाले करिब रु. ७५ हजार रकम अझै अपुग रहेको बताउनुभयो । यद्यपि, कार्यक्रमस्थलमै थप रु. २० हजार ५५५ सहयोग रकम संकलन भएको पनि उहाँले जानकारी दिनुभयो । साथै, घर निर्माणका लागि सबैभन्दा बढी रु. ५१ हजार आर्थिक सहयोग कृष्ण साहले प्रदान गर्नुभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

घर हस्तान्तारण कार्यक्रममा धीरसिंह, भक्त सुनार, संजीव मोक्तान, चेतबहादुर थापा, जगेन्द्र पौडेल तथा कामोध्य चौधरी ले शुभकामना मन्तव्य व्यक्त गर्दै विपद्का बेला समुदायको एकता, सहकार्य र मानवीय सहयोगले असहाय परिवारको जीवनमा नयाँ आशा र आत्मविश्वास जगाएको बताएका थिए । कार्यक्रमको अध्यक्षता राजेन्द्र कुँवरले गर्नुभएको थियो भने सञ्चालन उदय थापा ले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित