Rashtriya Dainik

प्रविधिसँग जोडिँदै सरावलका युवा : तीनमहिने निःशुल्क कम्प्युटर तालिम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३, गोइनिमा सरावल गाउँपालिकाको आयोजना तथा ब्रदर्स एकेडेमी सेन्टरको सहजीकरणमा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि सञ्चालन गरिएको तीनमहिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ।

ब्रदर्स एकेडेमी सेन्टरका सञ्चालक सुनिल प्रजापतीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हाे।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष सुखाडी प्रसाद चौधरीले वर्तमान समयमा कम्प्युटर ज्ञान प्रत्येक विद्यार्थीका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै सीपमूलक शिक्षाले युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँपालिकाले आगामी दिनमा पनि युवामुखी तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै पालिका उपाध्यक्ष बासमती हरिजनले औपचारिक शिक्षासँगै व्यावहारिक सीपको विकास आजको आवश्यकता भएको बताउँदै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारेर आफ्नो भविष्य उज्ज्वल बनाउन सहभागी विद्यार्थीलाई आग्रह गरिन्।

त्यस्तै उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले सूचना प्रविधिको युगमा कम्प्युटर सीप रोजगारी र व्यवसाय दुवैका लागि आधारभूत आवश्यकता बनेको बताउँदै यस्ता तालिमले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै पत्रकार उमेश कुमार बि.क.ले सूचना र प्रविधिको सही प्रयोगसँगै अध्ययन, अनुसन्धान र व्यक्तित्व विकासमा कम्प्युटर सीपको महत्व झन् बढ्दै गएको उल्लेख गर्दै सिकेका सीपलाई निरन्तर अभ्यासमा ल्याउन विद्यार्थीलाई सुझाव दिए।

तालिमका प्रशिक्षक सन्दीप बढई र सन्दीप प्रजापतीले तीन महिनासम्म सहभागीहरूलाई कम्प्युटर सञ्चालन, नेपाली तथा अङ्ग्रेजी टाइप, कार्यालयीय कम्प्युटर प्रयोग, इन्टरनेट तथा डिजिटल सेवासम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।

तीन महिना सञ्चालन गरिएको उक्त निःशुल्क तालिममा सरावल गाउँपालिकाका ३५ जना विद्यार्थी सहभागी थिए। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै भविष्यमा प्रविधिसँग जोडिएर थप अध्ययन र सीप विकासमा निरन्तर लाग्न प्रेरित गरिएको थियो।

गाउँपालिकाले सञ्चालन गरेको यो तालिमले एसईईपछि खाली समयको सदुपयोग मात्र नभई विद्यार्थीलाई डिजिटल युगसँग जोड्दै आत्मनिर्भर बन्ने आधार तयार गरेको सहभागीहरूले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित