राष्ट्रिय दैनिक/नवलपरासी,४असार
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले बुधबार २१औँ गाउँसभा तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिको अवसरमा कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेपछि त्यस विषयलाई लिएर विवाद सुरु भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल, पाल्हीनन्दन गाउँपालिका समितिले पुरस्कार वितरणप्रति आपत्ति जनाउँदै गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई ज्ञापनपत्र बुझाएको छ।
बिहीबार गाउँपालिका कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा जनताले तिरेको कर तथा राजस्वबाट सञ्चालित स्थानीय तहले कर्मचारीलाई नगद पुरस्कार वितरण गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। गाउँपालिकाले सेवा प्रवाह र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत दिनेश गौंडलाई रु. १ लाख, लेखा अधिकृत सञ्जयकुमार शर्मालाई रु. ९५ हजार तथा विपद् व्यवस्थापन फोकल पर्सन प्रदीप तिवारीलाई रु. ४० हजार नगद पुरस्कार प्रदान गरेको थियो।
जसपाले गाउँपालिकामा शिक्षा, कृषि, रोजगार, विपद् व्यवस्थापन तथा आधारभूत सेवा प्रवाहका क्षेत्रमा अझै पनि विभिन्न समस्या कायम रहेको अवस्थामा कर्मचारीलाई ठूलो रकम पुरस्कार वितरण गर्नु उपयुक्त नभएको जनाएको छ। ज्ञापनपत्रमा विद्यालयका बस प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको, बेरोजगार युवाका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसकेको तथा किसानले समयमा मलखाद प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ।
यस्तै कृषि, शिक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा नागरिकले विभिन्न समस्या भोगिरहेका बेला जनताको करबाट संकलित रकम पुरस्कारमा खर्च गरिएको भन्दै पार्टीले असन्तुष्टि जनाएको छ। जसपाका अनुसार यस्तो निर्णयले स्थानीय सरकारको प्राथमिकता, वित्तीय अनुशासन, पारदर्शिता तथा सार्वजनिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठाएको छ।
ज्ञापनपत्रमार्फत पार्टीले पुरस्कार वितरणको आधार, मापदण्ड र निर्णय प्रक्रिया सार्वजनिक गर्न, निष्पक्ष छानबिन गरी सत्यतथ्य नागरिकसमक्ष ल्याउन तथा जनताको करबाट संकलित रकम विकास निर्माण, शिक्षा, कृषि, रोजगारी तथा सेवा प्रवाह सुधारका क्षेत्रमा खर्च हुने सुनिश्चित गर्न माग गरेको छ।
जसपा नेपाल पाल्हीनन्दन गाउँपालिका समितिका अध्यक्ष व्यासमुनी यादव तथा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष महेन्द्र यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्र गाउँपालिका अध्यक्ष गुप्तालाई बुझाइएको हो। माग सम्बोधन नभए लोकतान्त्रिक तथा कानुनी माध्यमबाट थप आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनीसमेत ज्ञापनपत्रमा दिइएको छ।
जसपा नेता पप्पु यादवले गाउँपालिकाले पुरस्कार वितरणसम्बन्धी निर्णयको औचित्य स्पष्ट पार्नुपर्ने र जनताको करबाट खर्च गरिएको रकमबारे पारदर्शी जानकारी दिनुपर्ने माग गरिएको जानकारी दिए। उनले जनहितभन्दा कर्मचारीलाई नगद पुरस्कार वितरणलाई प्राथमिकता दिइएको भन्दै यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

