राजन कुमार बानिया /पर्सा, ४ असार
नेपाल–भारत सीमासँग जोडिएको पर्सा जिल्लामा लागुऔषध तस्करी नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरिरहेको अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। एकै दिनमा जिल्लाको प्रवेश क्षेत्र र सीमावर्ती निकास क्षेत्रबाट गरी ४७९ किलो गाँजा बरामद भएपछि सुरक्षा निकायले यसलाई संगठित लागुऔषध तस्करीविरुद्धको ठूलो उपलब्धिका रूपमा लिएको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा सञ्चालन भइरहेको विशेष निगरानी तथा सीमा सुरक्षा अभियानअन्तर्गत पहिलो घटनामा वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डबाट १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.१९ च ५७३८ नम्बरको बोलेरो पिकअपलाई शंकाको आधारमा रोकी जाँच गर्दा त्रिपालले छोपेर प्लास्टिकमा प्याक गरिएको ८ वटा पोकाभित्र १०९ किलो गाँजा फेला पारेको थियो। उक्त घटनामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुभाष थामी र २८ वर्षीय छत्रबहादुर थामीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच सोही दिन राति छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गस्तीमा रहेको संयुक्त प्रहरी टोलीले झाडीमा लुकाइराखिएको अवस्थामा २५ वटा पोकाभित्र ३७० किलो गाँजा बरामद गरेको थियो। प्रहरीको उपस्थिति थाहा पाएपछि तस्करहरूले गाँजा छाडेर फरार भएको अनुमान गरिएको छ।
सुरक्षा विश्लेषकहरूका अनुसार पर्सा प्रवेश गर्ने क्रममा पनि गाँजा पक्राउ पर्नु र सीमाबाट बाहिर लैजान तयारी अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद हुनु प्रहरीले सम्पूर्ण आपूर्ति शृंखलामाथि प्रभावकारी निगरानी गरिरहेको संकेत हो।
एकै दिनमा ४७९ किलो गाँजा नियन्त्रणमा लिन सफल हुनु मधेस प्रदेश प्रहरीका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। सुरक्षा अधिकारीहरूका अनुसार यसले सीमावर्ती क्षेत्रमा सक्रिय लागुऔषध तस्करी सञ्जाललाई स्पष्ट सन्देश दिएको छ कि कानुन कार्यान्वयन गर्ने निकाय तस्करी नियन्त्रणमा दृढतापूर्वक सक्रिय छ।
स्थानीयवासी तथा सुरक्षा वृत्तका अनुसार प्रहरी निरीक्षक प्रदीप पौडेलले पोखरियाको जिम्मेवारी सम्हालेपछि सीमा क्षेत्रमा निगरानी, गोप्य सूचना संकलन, नियमित गस्ती र शंकास्पद गतिविधिमाथि तत्काल प्रतिक्रिया दिने कार्यलाई प्राथमिकता दिएका छन्। त्यसकै परिणामस्वरूप पछिल्ला दिनहरूमा लागुऔषध नियन्त्रणसम्बन्धी उल्लेखनीय सफलताहरू हासिल भइरहेको बताइन्छ।
प्रहरीले बरामद गाँजा र पक्राउ परेकामाथि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

