राष्ट्रिय दैनिक / नवलपरासी ,४ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आफ्नो दैनिक कार्यसम्पादन, सेवा प्रवाह तथा विकास निर्माणसँग सम्बन्धित गतिविधिहरूलाई थप पारदर्शी र जनउत्तरदायी बनाउन फेसबुक पेजमार्फत नियमित रूपमा सार्वजनिक गर्न थालेको छ।
गाउँपालिकाले प्रत्येक दिन कार्यालयबाट सम्पादन भएका प्रमुख काम, विभिन्न शाखाबाट प्रदान गरिएका सेवा, विकास आयोजनाको प्रगति, जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा सम्पन्न कार्यक्रमलगायतका विवरण आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जनाएको छ।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले स्थानीय सरकारका गतिविधिबारे नागरिकलाई समयमै जानकारी गराउने, जनप्रतिनिधि र कर्मचारीप्रति उत्तरदायित्व बढाउने तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले दैनिक कार्यसम्पादन सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको बताए।
यस अभियानबाट गाउँपालिकाका नागरिकले घरमै बसेर स्थानीय सरकारका गतिविधिबारे जानकारी प्राप्त गर्न सक्ने, सेवा प्रवाहको अवस्थाबारे बुझ्न सक्ने तथा आवश्यक सुझाव र प्रतिक्रिया दिन सक्ने विश्वास गरिएको छ।
स्थानीयवासीहरूले पनि गाउँपालिकाको यो कदमलाई सकारात्मक रूपमा लिँदै पारदर्शिता, जवाफदेहिता र सूचना प्रवाहलाई बलियो बनाउने प्रयासको रूपमा प्रशंसा गरेका छन्।
गाउँपालिकाले आगामी दिनमा समेत सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै नागरिकमैत्री सेवा प्रवाह, सुशासन प्रवर्द्धन तथा सार्वजनिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

