तुलसीराम पौडेल /रुपन्देही ,३ असार
रुपन्देहीको सियारी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । गाउँसभामा चालु आर्थिक वर्ष २०८२÷०८३ को संशोधित बजेट, खर्चको अवस्था, आर्थिक तथा सामाजिक उपलब्धि, विकास निर्माणका प्रगति तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमबारे विस्तृत समीक्षा गरिएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०८३/०८४ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष थानेश्वर घिमिरले चालु आर्थिक वर्षका लागि संशोधित बजेट ७४ करोड ५३ लाख ५२ हजार रुपैयाँ रहेकोमा हालसम्म कुल ५८.२९ प्रतिशत खर्च भएको जानकारी दिनु भएको छ । भने चालुतर्फ ४५ करोड १२ लाख ५२ हजार रुपैयाँ बजेटमध्ये ७४.३३ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ २२ करोड ४१ लाख रुपैयाँ बजेटमध्ये ३३.६७ प्रतिशत खर्च भएको छ ।
उहाले चालु आर्थिक वर्षमा गाउँपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भयो । उपभोक्ता समितिमार्फत सञ्चालन भएका १४२ वटा आयोजनामध्ये ९८ वटा आयोजना सम्पन्न भई फरफारक भइसकेको उहाले जानकारी दिनु भयो । विद्युतीय खरिद प्रणालीमार्फत ३२ वटा सडक पूर्वाधार निर्माण आयोजना सम्पन्न भएका छन्। वडा नम्बर ६ को मिलनचोकदेखि गिदेया हुँदै वडा नम्बर ५ जोड्ने सडक, वैदौली डाँडादेखि वडा नम्बर ४ कार्यालयसम्मको सडक तथा शिवनगर सडक स्तरोन्नति लगायतका आयोजना सम्पन्न भएका छन्। यस अवधिमा १.९६ किलोमिटर सडक कालोपत्रे, ४ किलोमिटर ग्राभेल, २.७ किलोमिटर आरसीसी सडक, ४३३ मिटर पक्की सिँचाइ कुलो, १ हजार ४१७ मिटर पक्की नाली, ४ वटा कल्भर्ट तथा ४२३ मिटर रिटेनिङ वाल निर्माण सम्पन्न गरिएको छ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा नम्बर ४ छपियामा १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भई एमबीबीएस डाक्टरमार्फत सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ। वडा नम्बर ४ को प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सातवटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन्। बारु समुदायको संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि निर्माणाधीन थारु संग्रहालय अन्तिम चरणमा पुगेको छ भने सियारी रिङ रोडमा सडक बत्ती जडान गरी सडक सुरक्षा सुदृढ बनाइएको छ। अमुवास्थित कृषि हाटबजारलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माण गरिएको छ भने गाउँपालिकाको गौरवको आयोजनाका रूपमा रहेको अमुवा पार्क सौन्दर्यीकरण तथा तिलोत्तमा–सियारी–मायादेवी रिङ रोड कालोपत्रे आयोजना कार्यान्वयनको चरणमा रहेका छन्।
कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी र व्यवसायिक बनाउने उद्देश्यले गाउँपालिकाले प्रतिफलमा आधारित विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ। दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ९९८ जना कृषकको खातामा ५८ लाख ७० हजार ६ सय रुपैयाँ जम्मा गरिएको छ। माछा उत्पादक ५३१ जना कृषकलाई प्रतिकेजी ५ रुपैयाँका दरले २९ लाख ६० हजार १ सय रुपैयाँ अनुदान वितरण गरिएको छ।
कृषकहरूको बाली संरक्षणका लागि ५० प्रतिशत अनुदानमा २३२ वटा पावर स्प्रे मेसिन वितरण गरिएको छ भने लसुन, खुर्सानी र बेसार उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले ९८ जना कृषकलाई ७ लाख ३७ हजार रुपैयाँ नगद अनुदान उपलब्ध गराइएको छ। साना सिँचाइ कार्यक्रमअन्तर्गत ४७ जना कृषकलाई स्यालो ट्युबवेल जडानका लागि सामग्री अनुदान प्रदान गरिएको छ, जसबाट ३१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ। १६ वटा डिप ट्युबवेल तथा लिफ्ट सिँचाइ आयोजनाको विद्युत महसुलमा ७५ प्रतिशत अनुदान उपलब्ध गराइएको छ। साथै ७८१ जना कृषकलाई कीटनाशक तथा ढुसीनाशक विषादी वितरण गरिएको छ।
पशु स्वास्थ्यतर्फ रेविज रोग नियन्त्रणका लागि कुकुर तथा बिरालो बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरी १४७ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ।
शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै गाउँपालिकाभित्र रहेका २८ विद्यालयको भौतिक पूर्वाधार विवरण अद्यावधिक गरी विद्यालय पूर्वाधार निर्माण गुरुयोजना तयार गर्ने कार्य अघि बढाइएको छ। स्थानीय शिक्षा योजना निर्माण प्रक्रियासमेत सुरु गरिएको छ। सामुदायिक तथा धार्मिक विद्यालयहरूको लेखापरीक्षण, सामाजिक परीक्षण तथा नियमित अनुगमन सम्पन्न गरिएको छ। विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्न कक्षा ५ र कक्षा ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गरिएको थियो, जसमा कक्षा ५ का ७५० र कक्षा ८ का ९०६ विद्यार्थी सहभागी भएका थिए। उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा केन्द्रीय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालनमा रहेको छ।
स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकाले देशकै नमूना कार्यक्रमका रूपमा घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अशक्त अपाङ्गता भएका १ हजार ५२७ जनालाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको छ। मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्ड पक्षघात भएका ७५ जना नागरिकलाई मासिक ५ हजार रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइएको छ।

छपिया स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा सञ्चालन गरी ४९९ जनाले सेवा लिएका छन् भने प्राथमिक आँखा उपचार केन्द्रमार्फत ५५० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ। रक्तसञ्चार केन्द्र भैरहवासँगको सहकार्यमा २६८ जनालाई निःशुल्क रगत उपलब्ध गराइएको छ। साथै लायन्स आँखा अस्पताल बुटवल र रण अम्बिका शाह आँखा अस्पताल भैरहवासँगको सहकार्यमा १०२ जनाले निःशुल्क मोतियाबिन्दु उपचार सेवा लिएका छन्। वडा नम्बर ३ हर्नैयास्थित नागरिक आरोग्य सेवा केन्द्रबाट आयुर्वेद औषधि, योग, पञ्चकर्म लगायतका सेवा प्रदान गरिएको छ, जसबाट ३ हजार ५ सय नागरिक लाभान्वित भएका छन्।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

