राजन कुमार बानिया / पर्सा, ३ असार
पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि, सिँचाइ, रोजगार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष ममता महतोले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “स्थानीय स्रोत, स्थानीय रोजगारी — एक गाउँ, एक उद्यम, एक पहिचान, हाम्रो अभियान” लाई मूल नाराका रूपमा अघि सारिएको जानकारी दिनुभयो।
उहाँले सीमित स्रोत–साधनका बीच कार्यान्वयनयोग्य, परिणाममुखी तथा जनअपेक्षा अनुरूपका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो। “पूरा गर्न नसकिने योजनाको लामो सूचीभन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रम नै हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो।
अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले गत आर्थिक वर्षका उपलब्धिहरू प्रस्तुत गर्नुभयो। उहाँका अनुसार ग्रामीण क्षेत्रमै पहिलो पटक निर्माण गरिएको १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ। अस्पतालमा आधुनिक प्रयोगशाला, भिडियो एक्स–रे, दन्त तथा आयुर्वेद सेवा उपलब्ध रहेको र प्रत्येक महिनाको अन्तिम शुक्रबार स्त्रीरोग तथा बालरोग विशेषज्ञद्वारा विशेष सेवा प्रदान भइरहेको छ।
अध्यक्ष चौधरीले राष्ट्रिय स्वास्थ्य संस्था (NSI) सँग सम्झौता भइसकेकाले आगामी साउनदेखि ईसीजी तथा शल्यक्रिया सेवा समेत सञ्चालनमा ल्याइने जानकारी दिनुभयो। गाउँपालिकामा बढ्दो लागुऔषध प्रयोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने पनि उहाँले बताउनुभयो।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुधेश्वरनाथ महादेव (भाथा बाबा) क्षेत्रको विकासलाई तीव्रता दिँदै नागरिकको आवश्यकता र जनअपेक्षाअनुसार प्रतिफलमुखी योजना कार्यान्वयन गरिने अध्यक्ष चौधरीको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले संघीय तथा प्रदेश सरकारका नीति, स्थानीय आवश्यकता र उपलब्ध स्रोत–साधनलाई आधार बनाएर नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिनुभयो। उहाँले पारदर्शिता, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई प्रशासनको प्रमुख प्राथमिकता बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष विजय गैरेले गाउँपालिकामा बढ्दो लागुऔषध प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। किशोर तथा युवाहरू लागुऔषधको दुष्चक्रमा फस्दै गएको उल्लेख गर्दै उहाँले समयमै नियन्त्रण गर्न नसके भावी पुस्ता नै जोखिममा पर्ने चेतावनी दिनुभयो। विद्यालय उमेरका बालबालिकाको विद्यालय बाहिर रहने अवस्थाप्रति समेत चिन्ता व्यक्त गर्दै शिक्षा र लागुऔषध नियन्त्रणलाई विशेष प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सीमाभित्र रही योजना तथा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। बजेटका प्रमुख स्रोतमा संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त अनुदान, विशेष तथा समपूरक अनुदान, प्रदेश अनुदान र आन्तरिक आय समावेश रहेका छन्।
गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, समाजसेवी, सञ्चारकर्मी तथा गाउँसभाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

