Rashtriya Dainik

सरावलको १८औँ गाउँसभा सम्पन्न, जनमुखी ११३ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक।

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको १८औँ गाउँसभाको पहिलो अधिवेशन तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिकीकरण भव्य रूपमा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासी प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार, सुशासन, सामाजिक सुरक्षा, महिला तथा बालबालिका, वातावरण संरक्षण लगायतका क्षेत्र समेटिएका ११३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षलाई “शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, डिजिटल सुशासन र दिगो पूर्वाधार विकासको वर्ष” का रूपमा अघि बढाइने बताउनुभयो।

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरूमा एआई सपोर्टसहितको डिजिटल शिक्षण प्रणाली, ई–हाजिरी, सीसीटीभी जडान, शिक्षक तथा कर्मचारीको सेवा सुविधा वृद्धि, छात्रवृत्ति, निःशुल्क स्यानिटरी प्याड वितरण तथा उच्च शिक्षामा पहुँच विस्तारका कार्यक्रम समेटिएका छन्। साथै युवालाई कुलतबाट जोगाउन तथा खेलकुद प्रवर्द्धन गर्न “कोलवृक्ष कप” र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित गरिने उल्लेख गरिएको छ।

भौतिक पूर्वाधारतर्फ कृषि सडक सुधार, आरसीसी सडक विस्तार, झरही तथा धनेवा तटबन्ध निर्माण, सिंचाइ विस्तार, स्मार्ट वडा कार्यालय, १५ शय्याको अस्पताल निर्माण प्रारम्भ, खानेपानी विस्तार, सौर्य बत्ती जडान तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको छ।

स्वास्थ्यतर्फ “पालिकाबासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा” अवधारणालाई निरन्तरता दिँदै महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन वृद्धि, पोषण झोला कार्यक्रम, पूर्ण खोप सुनिश्चितता, क्षयरोग मुक्त सरावल अभियान, नसर्ने रोगको स्क्रिनिङ, जेष्ठ नागरिक स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने नीति अघि सारिएको छ।

त्यसैगरी रोजगार तथा उद्यमशीलता क्षेत्र अन्तर्गत सीप विकास तालिम, स्वरोजगार कार्यक्रम, सुरक्षित वैदेशिक रोजगार, स्टार्टअप तथा डिजिटल उद्यमशीलता प्रवर्द्धन, सहुलियतपूर्ण कर्जा व्यवस्था तथा स्थानीय उत्पादनको बजारीकरणलाई विशेष प्राथमिकता दिइएको छ।

महिला, बालबालिका तथा सामाजिक विकासतर्फ महिला उद्यमशीलता, घरेलु हिंसा तथा बालविवाह न्यूनीकरण, बालमैत्री स्थानीय शासन, ज्येष्ठ नागरिक संरक्षण तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।

सुशासन र प्रशासन सुधारका क्षेत्रमा गाउँपालिकालाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, अनलाइन सेवा विस्तार, डिजिटल गुनासो पोर्टल, सार्वजनिक सुनुवाइ, नागरिक सन्तुष्टि सर्वेक्षण, भ्रष्टाचार नियन्त्रण तथा कार्यसम्पादनमा आधारित कर्मचारी मूल्याङ्कन प्रणाली लागू गरिने उल्लेख गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख भगौती प्रसाद यादव (रुदल) ले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले विकास, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता देखाउनुपर्ने बताउनुभयो। उहाँले सरावल गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सुरेश यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गर्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष चौधरीले प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल पश्चात आगामी असार १० गते बजेट सार्वजनिक गरिने जानकारी दिनुभयो।

सरावल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगार, सामाजिक सुरक्षा र सुशासनलाई केन्द्रमा राखेर महत्वाकांक्षी तथा जनमुखी नीति तथा कार्यक्रम ल्याएको भन्दै सहभागीहरूले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित