Rashtriya Dainik

ब्यवस्थापन समितीको कार्यकाल लम्बाएर क्याम्पसको खर्चमा भ्रमण

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ जेठ

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ मा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसको खर्चमा व्यवस्थापन समितिसहितको टोली पूर्वाञ्चल भ्रमणमा गएको विषयलाई लिएर विभिन्न तहबाट प्रश्न उठ्न थालेको छ।यस बिषयमा सरोकारवाला र स्वयं विद्यार्थीहरु र पुर्व विद्यार्थी संगठनहरुले समेत प्रश्न उठाउएका छ्न ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको नेतृत्वमा क्याम्पस प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधि सम्मिलित जम्मो टोली पाँच दिने पूर्वाञ्चल भ्रमण सकेर फर्किएको हो ।

आलोचकहरूले व्यवस्थापन समितिको कार्यकाल गत जेठ ५ गते नै सकिएको दाबी गर्दै म्याद सकिएको समितिले आगामी भदौ १४ गते अधिवेशन गर्ने निर्णयसहित आफूखुसी कार्यकाल लम्ब्याएर भ्रमणमा निस्किएको आरोप लगाएका छन्।

विद्यार्थीबाट संकलित शुल्क तथा क्याम्पसको स्रोतबाट प्राप्त रकम शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास तथा विद्यार्थी हितका कार्यक्रमका लागि खर्च हुनुपर्नेमा भ्रमणमा खर्च गरिएको भन्दै स्थानीय सरोकारवालाले आपत्ति जनाएका छन्।

विद्यार्थीलाई आवस्यक सुबिधा दिन र शैक्षिक अवलोकन भ्रमणका लागि बजेट माग्दा न्यून रकम उपलब्ध गराइने तर व्यवस्थापन समितिको भ्रमणमा भने सहज रूपमा खर्च गरिएको टिप्पणी हुन थालेको छ ।

नेपाल विद्यार्थी संघ नवलपरासीका अध्यक्ष कमल बस्यालले विद्यार्थीबाट संकलित रकमले अहिलेको परिस्थितिमा भ्रमण जानू उपयुक्त नभएको उल्लेख गर्दै बिद्यार्थी र क्याम्पसकै बिकासमा खर्चिनु पर्नेमा जोड दिए ।”भ्रमण नै जानू हुदैन अध्ययन अवलोकन नै गर्नु हुदैन भन्ने होईन तर समय परिस्थिति र अवस्था अनुसार हुन्छ,एक त उहाँहरुको कार्यकाल पनि सकिएको छ”बस्यालले भने ।

यस विषयमा सरोकारवालाले सामाजिक तथा शैक्षिक संस्थाको स्रोतसाधन प्रयोगमा पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको बताएका छन्। देश आर्थिक मन्दीको प्रभावबाट गुज्रिरहेका बेला सरकार स्वयंले अनुत्पादक खर्च, भ्रमण तथा तालिममा मितव्ययिता अपनाउन आग्रह गरिरहेको अवस्थामा क्याम्पसको खर्चमा गरिएको भ्रमणको औचित्यमाथि प्रश्न खडा भएको छ ।

यस बिषयमा जानकारी लिदा क्याम्पस प्रमुख पुण्य प्रसाद पौडेलले भ्रमण नियमित तालिका अन्तर्गत नै रहेको बताए ।आफू समेत पुर्व पत्रकार भएको भन्दै पौडेलले क्याम्पसमै आएर बसेर कुरा गर्न सकिने प्रतिक्रिया दिए ।ब्यवस्थापन समितिको म्याद सकिए पनि बिधान अनुसार नै म्याद थप गरिएको पौडेलले बताए ।आफू क्यापस अध्यक्ष भएर आएपछिको कामको मुल्यांकन गर्न समेत उनले आग्रह गरे ।

क्यापसका नेविसंघ पुर्व सभापति प्रशान्त गिरीले क्याम्पसमा विभिन्न बहानामा बिगत देखि नै अपचलन हुँदै आएको जिकिर गरे ।”हाम्रो पालामा साएत विद्यार्थी भ्रमण भनेर पैसा आएको थियो तर हामी गएनौ त्यो रकम के गरियो हामिलाइ पनि थाहा छैन,त्यहा पारदर्शीता भन्ने नै छैन”गिरीले भने ।विद्यार्थीका लागि बस सञ्चालनको समेत खर्च धान्न मुस्किल भएको बेला गरिएको यो भ्रमणले सरकारी खर्चमाथिको रजाइँलाई थप बल पुर्याएको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित