कृष्ण यादव/पर्सा २४ जेठ
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मारेर जुवातास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नगद २९ हजार ५०० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जुवातास जस्ता अवैध गतिविधिले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यस्ता कार्यविरुद्ध प्रहरीको निगरानी र कारबाही निरन्तर जारी रहने बताइएको छ।
यस सम्बन्धमा प्रहरी निरीक्षक प्रदीप पौडेलले भन्नुभयो, “समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम राख्न अवैध गतिविधिविरुद्ध प्रहरी सदैव सक्रिय छ। नागरिकबाट प्राप्त सूचना र सहयोगकै आधारमा यस्तो कारबाही सम्भव भएको हो। आगामी दिनमा पनि जुवातास, लागूऔषध तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध अभियानलाई थप प्रभावकारी बनाइनेछ। नागरिकहरूलाई यस्ता गतिविधिबारे जानकारी भएमा प्रहरीलाई सूचना दिन आग्रह गर्दछु।”प्रहरीले जिल्लाभर अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

