विराटनगर, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनका क्रममा मतदान अधिकारसम्बन्धी विवादले केही समय तनावपूर्ण अवस्था सिर्जना गरेको छ।
कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी अधिवेशनमा केही कार्यकर्ताले आफूहरूको नाम मतदाता सूचीबाट हटाइएको आरोप लगाउँदै विरोध जनाएका थिए। असन्तुष्ट समूहले बन्दसत्र हुने हलको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएर निर्वाचन प्रक्रिया रोक्न खोजेको जनाएको छ।
विरोधमा उत्रिएका कार्यकर्ताहरूले मतदान प्रक्रियामा सहभागी हुन नपाएको गुनासो गर्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूलाई हटाएर निर्वाचन प्रक्रिया अगाडि बढाइएपछि केही समय होहल्ला र तनावको अवस्था सिर्जना भएको बताइएको छ।
यद्यपि जिल्ला प्रहरी कार्यालय सुनसरीले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा केहीबेर विवाद र होहल्ला भए पनि हातपातको अवस्था सिर्जना भएको पुष्टि भएको छैन।
प्रहरी स्रोतका अनुसार अहिले अधिवेशन स्थलको अवस्था सामान्य रहेको छ र निर्वाचन प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको छ।
रास्वपाको जिल्ला नेतृत्व चयनका लागि भइरहेको अधिवेशनमा मतदाता सूची र प्रतिनिधित्वको विषयलाई लिएर केही समूहले असन्तुष्टि जनाउँदै आएका छन्। यद्यपि पार्टी नेतृत्वले अधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

