Rashtriya Dainik

त्रिवेणीको शिवपुरगढीमा निवृत्त शिक्षकहरूको भेला, अनुभव आदानप्रदानदेखि सम्मानसम्म

आरपि उपाध्याय /नवलपरासी ,२३ जेठ

नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणी गाउँ कार्यसमिति नवलपुरको विस्तारित घुम्ती बैठक त्रिवेणीको शिवपुरगढीमा शनिबार सम्पन्न भएको छ।
गाउँ कार्य समितिका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षता तथा जिल्ला समितिका अध्यक्ष यमलाल कंडेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।

सो अवसरमा प्रमुख अतिथि कंडेलले सेवा निवृत्त शिक्षकहरुको अनुभव आदानप्रदान गर्ने उद्देश्यले पालिका स्तरीय घुम्ती बैठक फलदायी रहने बताउदै उहाँले राज्यले शिक्षकहरुलाई झ्यालबाट होइन,ढोकाबाट सम्बोधन गरिनुपर्ने र शिक्षकमाथी हुँदै आएको विभेदकारी नीति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो।
अध्यक्ष कंडेलले “हामी लिन आएका होइनौं,दिन आएका हौं” भन्दै सेवा निवृत्त गुरुहरुको स्वास्थ्य अवस्था बुझ्न र सुखदुःखको घडीमा सहकार्य गरी अगाडि बढ्ने जिकिर पनि गर्नुभएको थियो।

बैठकमा निवृत्त शिक्षक समाजका उपाध्यक्ष बालकृष्ण भुसालले कठिन परिश्रमबाट निर्माण गरिएको निवृत्त शिक्षक समाजलाई सङ्ख्यात्मक रुपमा वृद्धि गरी समयसापेक्ष भेला,गोष्ठी, भेटघाट लगायत कार्य गरि अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।
बैठकमा शालिकराम तिमिल्सिना,भैरब प्रसाद शर्मा लगायत एक दर्जन निवृत्त गुरुहरुले आफ्नो अनुभव सहितको निवृत्त जीवनबारे प्रकाश पार्नुभएको थियो।

२०८५ साल ज्येष्ठ १७ गते स्थापना भएको नेपाल निवृत्त शिक्षक समाज नवलपुर जिल्लामा हाल ५८१ निवृत्त शिक्षकहरु आबद्ध रहेको समाजका सचिव शालिकराम वाग्लेले जानकारी दिनुभएको छ।

सम्पन्न विस्तारित घुम्ती बैठकले गोजी,पात्रो वितरण,७० वर्ष पुरा गरिसक्नु भएका सेवा निवृत्त गुरुहरुलाई सम्मान कार्य लगायत अन्य प्रस्तावहरु उपर निर्णय गरिएको पनि जानकारीमा आएको छ।

बैठक पश्चात् त्रिवेणी क्षेत्रबाट सेवा निवृत्त हुनुभएका शिक्षकहरु गोपाल बहादुर क्षेत्री,अदम बहादुर थापा,राम सिंह पुन लगायत गुरुहरुलाई सम्मान सहित आजीवन सदस्यता प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित