Rashtriya Dainik

हावाहुरीले घर भत्कायो, सांसद शाक्यले थाले आवास निर्माण अभियान

राजन कुमार बानियाँ/ पर्सा, २२ जेठ । भीषण हावाहुरीले घर पूर्ण रूपमा ध्वस्त भएपछि बिचल्लीमा परेकी ठोरी गाउँपालिका–१ भगवाननगर टाडी निवासी दलित, एकल महिला तथा भूमिहीन सुकुम्बासी कुमारी सुनारका लागि नयाँ आवास निर्माण अभियान सुरु हुने भएको छ।

संघीय सांसद टेकबहादुर शाक्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जेठ १० गते आएको भीषण हावाहुरीले सुनारको घर पूर्ण रूपमा भत्काएको उल्लेख गर्नुभएको छ। स्थानीयवासी तथा भारतीय सेनामा कार्यरत उदय थापाबाट प्राप्त सूचनापछि घटनास्थल पुगेर निरीक्षण गर्दा घर बस्नै नसक्ने अवस्थामा पुगेको पाइएको उहाँले बताउनुभएको छ।

घर भत्किएपछि कुमारी सुनार अहिले छिमेकीको गोठमा खाना पकाएर खाने र राति अर्कै छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएकी छन्। वृद्धभत्ताकै भरमा जीवनयापन गरिरहेकी सुनारका श्रीमानको निधन भइसकेको छ भने दुई छोरा विगत करिब १५ वर्षदेखि सम्पर्कविहीन रहेको बताइन्छ। आफ्नै घर, जग्गाजमिन वा पारिवारिक सहारासमेत नभएको अवस्थामा उनको जीवन अत्यन्त कष्टकर बनेको छ।

यही मानवीय पीडालाई मध्यनजर गर्दै सांसद शाक्यको पहलमा जेठ २२ गते बिहान ७ बजे श्रमदानसहित नयाँ घर निर्माण कार्यको शिलान्यास गरिने भएको छ। कार्यक्रममा सामाजिक अभियन्ता, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवावर्ग तथा स्थानीय शुभेच्छुकहरूको सहभागिता रहने जनाइएको छ।
श्रमदानमार्फत भत्किएको घरका काठपात तथा अन्य सामग्री व्यवस्थापन गरी सुरक्षित आवास निर्माणको प्रक्रिया अघि बढाइनेछ। सांसद शाक्यले कुमारी सुनारको जीवनमा पुनः सुरक्षित आश्रय, आत्मविश्वास र आशाको उज्यालो फर्काउन सबैलाई अभियानमा हातेमालो गर्न आग्रह गर्नुभएको छ।
एकल, असहाय र भूमिहीन महिलाका लागि सुरु गरिएको यो अभियानले मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित