राष्ट्रिय दैनिक / नवलपरासी ,२२ जेठ
विश्व वातावरण दिवसको अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ स्थित सरावल स्वास्थ्यचौकी परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको हो।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको नेतृत्वमा सम्पन्न कार्यक्रममा गुलमोहर, पारिजात, तेजपत्ता, एरिका पाम, धुपी तथा चाइना डल लगायतका बिरुवाहरू रोपिएको योजना शाखा प्रमुख इश्वरी खनालले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले वातावरण संरक्षण केवल एक दिवसमा सीमित विषय नभई मानव जीवनसँग प्रत्यक्ष जोडिएको दायित्व भएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका बढ्दो चुनौतीबीच वृक्षारोपणलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा समेत सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्यचौकी परिसरलाई हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले गरिएको वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा गरिएको यस अभियानले हरित सरावल निर्माणको लक्ष्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

