राष्ट्रिय दैनिक /नवलपरासी ,२२ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा विश्व वातावरण दिवसको अवसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
एकीकृत हातेमालो समाज नेपालद्वारा सञ्चालित ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ तथा महेन्द्र माध्यमिक विद्यालय सरावलको समन्वयमा आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रममा गुलमोहर, पारिजात, तेजपत्ता, एरिका पाम, धुपी तथा चाइना डल लगायतका बिरुवाहरू रोपण गरिएको थियो।

विद्यालय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिकी अध्यक्ष सोबिता काेहारको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरीले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताए। उनले हरियाली प्रवर्द्धनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गाैतम, वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरी, कार्यपालिका सदस्य रामानन्द हरिजन, वडा नं. ४ की सदस्य रञ्जना महतो, विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण चौधरी, प्रधानाध्यापक सुरेन्द्र चौधरी, परियोजनाका फिल्ड कार्यक्रम पर्यवेक्षक दीपेश सिग्देल र रमाशंकर पाण्डेय लगायत शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

परियोजनाले पोषणका संवेदनशील पक्षहरू कृषि, बजारीकरण तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा काम गर्दै आएको छ। यसअन्तर्गत महेन्द्र माध्यमिक विद्यालयमा शौचालय सुदृढीकरण, खानेपानी तथा सरसफाइ व्यवस्थापनका साथै पोषण र सरसफाइसम्बन्धी विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन्।

विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले विद्यालय परिसरलाई हराभरा बनाउनुका साथै विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

