राजन कुमार बानियाँ /पर्सा, २१ जेठ । एसईई परीक्षा २०८१ मा पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले नगद पुरस्कारसहित सम्मान गर्नुभएको छ।
ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी अन्सु खनालले एसईई परीक्षामा ३.६६ जिपिए प्राप्त गरी क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेपछि उहाँलाई रु. ५१ हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।
शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने उद्देश्यले सांसद शाक्यले घोषणा गर्नुभएको पुरस्कार कार्यक्रमअन्तर्गत जिराभवानी गाउँपालिका–स्थित श्री वितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा आयोजित विशेष समारोहमा खनाललाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न पालिकामा प्रथम स्थान हासिल गर्ने अन्य विद्यार्थीहरूलाई समेत जनही रु. २१ हजार का दरले नगद पुरस्कार प्रदान गरिएको थियो।
सम्मानित हुनेहरूमा श्री नेरा माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जिपिए ३.२५), श्री नेरा माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जिपिए ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (जिपिए ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (जिपिए ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जिपिए ३.२२) रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै सांसद शाक्यले “शिक्षा नै विकास र समृद्धिको आधारशिला हो” भन्दै विद्यार्थीहरूलाई उच्च लक्ष्य निर्धारण गरी निरन्तर अध्ययनमा लाग्न आग्रह गर्नुभयो। उहाँले प्रतिभाको सम्मान र प्रोत्साहनका यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास व्यक्त गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

