Rashtriya Dainik

भन्सार छलिका १६ लाखभन्दा बढीका सामान बरामद

बिनोद निगम/ नवलपरासी ,१७ जेठ

भारतसँग खुला सीमा जोडिएको पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती नाकाहरूमा प्रहरीले निगरानी र चेकजाँच कडा बनाएसँगै भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका रु. १६ लाख ३१ हजार ६ सय बराबरका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी इलाकाहरूले सञ्चालन गरेको विशेष अभियानका क्रममा केरा, कपडा तथा सवारीसाधनसहितका अवैध सामग्री नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार सुस्ता, रामनगर, लङ्गडी पाकड, झुलेनीपुर,बसहिया,पक्लिहवा,सनाईलगायत सीमावर्ती क्षेत्र हुँदै अवैध रूपमा सामान भित्र्याउने गतिविधि रोक्न नियमित गस्ती र चेकजाँच तीव्र पारिएको छ। खुला सीमाको फाइदा उठाउँदै केही व्यक्ति तथा समूहले ग्रामीण र वैकल्पिक बाटो प्रयोग गरी क्यास्मेटिकका सामग्री, इलेक्ट्रोनिक,मोबाइल, मोबाइलका कभरहरू,कफी,तोरी, कपडा,लगायतका सामग्री तथा सवारीसाधन नेपाल भित्र्याउने प्रयास गर्दै आएको प्रहरीको भनाइ छ।

यसै क्रममा जेठ १४ गते बिहान करिब ४:२५ बजे सुस्ता गाउँपालिका–५ रामनगरबाट ग ३ च १४३५ नम्बरको पिकअप गाडीमा ल्याइँदै गरेको करिब १० क्विन्टल काँचो केरा बरामद गरिएको थियो। गाडी र केराको संयुक्त अन्दाजी मूल्य रु. १२ लाख ७० हजार रहेको प्रहरीले जनाएको छ।

त्यसै दिन बिहान १०:५० बजे रामनगर क्षेत्रमै बेवारिसे अवस्थामा छाडिएको १५ क्विन्टल काँचो केरा बरामद गरिएको थियो। उक्त केराको अन्दाजी मूल्य रु. १ लाख ३५ हजार रहेको छ। प्रहरी टोली पुग्ने जानकारी पाएपछि संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएको बताइएको छ।

यस्तै, जेठ १५ गते बिहान ३:३० बजे पाल्हिनन्दन गाउँपालिका–६ लङ्गडी पाकड क्षेत्रबाट भारतीय नम्बर प्लेटका युपी ५३ एए ६७०४ र युपी ५६ एवाई ७३३२ नम्बरका मोटरसाइकलमार्फत ल्याइँदै गरेको करिब ४ क्विन्टल काँचो केरा बरामद गरिएको थियो। मोटरसाइकल र केरासहितको कुल अन्दाजी मूल्य रु. ८५ हजार रहेको प्रहरीले जनाएको छ।

त्यसै दिन बिहान ६:०० बजे सरावल गाउँपालिका–३ हुलासी क्षेत्रबाट नम्बर प्लेट स्पष्ट नखुलेको मोटरसाइकल र चालकसहित ३५ थान कटन कपडा (८४४ मिटर) बरामद गरिएको थियो। बरामद कपडाको अन्दाजी मूल्य रु. १ लाख ४१ हजार ६ सय रहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन थापाले बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जानकारी दिए।

सीमावर्ती क्षेत्रका स्थानीयवासीले प्रहरीको सक्रियता बढे पनि केही नाकाहरू हुँदै तस्करी पूर्ण रूपमा नियन्त्रण हुन नसकेको बताएका छन्। विशेषगरी रातिको समयमा ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरी विभिन्न सामान ओसारपसार हुने क्रम अझै जारी रहेको उनीहरूको गुनासो छ। स्थानीय व्यवसायीहरूका अनुसार यस्ता गतिविधिले राज्यको राजस्वमा क्षति पुर्‍याउनुका साथै वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीहरूलाई समेत प्रत्यक्ष असर पारिरहेको छ।

यता, जिल्लामा हालै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा सीमा क्षेत्रमा निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट नियन्त्रणका लागि सीमा नाकाहरूमा गस्ती, सूचना संकलन र चेकजाँच अभियानलाई अझ सशक्त बनाइनेछ।

सीमा क्षेत्रमा पछिल्लो समय भएका बरामद घटनाले प्रहरीको सक्रियता बढेको संकेत गरे पनि खुला सीमा र वैकल्पिक मार्गका कारण तस्करी नियन्त्रण अझै चुनौतीपूर्ण रहेको देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित