आरपि उपाध्याय / नवलपरासी, जेठ १७ —
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको वृहत् बाली उपचार शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सुस्ता गाउँपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडा नं. १ देखि ५ सम्म सञ्चालन गरेको घुम्ती शिविरमार्फत ५२५ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन्।
पछिल्लो समय बढ्दो तापक्रम, अत्यधिक गर्मी तथा जलवायु परिवर्तनका कारण खाद्यान्न, तरकारी र फलफूल बालीमा रोग तथा किराको प्रकोप बढ्दै गएपछि कृषकलाई प्राविधिक सेवा, रोग तथा किरा पहिचान र नियन्त्रण सम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको कृषि शाखाले जनाएको छ।

शिविरमा कृषकहरूले आफ्नो खेतबारीमा देखिएका समस्या तथा प्रभावित बालीका नमुनासहित सहभागिता जनाएका थिए। विशेषज्ञ तथा तालिमप्राप्त प्राविधिक टोलीले नमुना परीक्षण, रोग तथा किरा पहिचान, क्षतिको विश्लेषण तथा समस्या अनुसार उपयुक्त व्यवस्थापनका उपायबारे परामर्श दिएको थियो।
कार्यक्रममा आवश्यकता अनुसार जैविक विषादी, फेरोमोन ट्र्याप, स्टिकी ट्र्याप लगायत किरा नियन्त्रण सामग्री वितरण गर्नुका साथै रोग तथा किरा व्यवस्थापन सम्बन्धी प्राविधिक गाइड र सूचना सामग्री पनि उपलब्ध गराइएको थियो।
कृषि शाखाका नायब प्राविधिक सहायक अशोक रावलका अनुसार पछिल्लो समय मौसम परिवर्तन, तापक्रम वृद्धि तथा वातावरणीय असन्तुलनका कारण बालीमा रोग तथा संक्रमणको समस्या तीव्र बन्दै गएको छ। यस्ता चुनौती समाधान गर्न कृषकको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने घुम्ती शिविर प्रभावकारी सावित भएको उहाँले बताउनुभयो।
कृषि क्षेत्रलाई थप उत्पादनमुखी, व्यवसायिक तथा प्रतिस्पर्धी बनाउन कृषक केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ। कृषकहरूको उत्साहजनक सहभागिता, सकारात्मक प्रतिक्रिया तथा प्राविधिक सेवाप्रतिको विश्वासले यस्ता कार्यक्रमको आवश्यकता र प्रभावकारिता अझ पुष्टि गरेको आयोजकको भनाइ छ।

कृषि उत्पादन संरक्षण, खाद्य सुरक्षाको सुनिश्चितता तथा कृषकको आर्थिक सशक्तीकरणका लागि आगामी दिनमा समेत यस्ता किसानमैत्री कार्यक्रमलाई थप विस्तार गरिने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

