काठमाडौं, जेठ १७ — दलित तथा सीमान्तकृत समुदायको अधिकार, शिक्षा, सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा निरन्तर क्रियाशील सामाजिक अभियन्ता मनोज रामलाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्मान गरिएको छ।
रण अम्बिका शाह सेवा गुठी–नेपालको तेस्रो वार्षिक कार्यक्रम तथा रण–अम्बिका सेवा पुरस्कार एवं सेवा सहयोग समर्पण समारोहका अवसरमा मनोज रामलाई रु. ५० हजार नगद राशिसहित ‘रण अम्बिका शाह सेवा सहयोग’ प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता डा. चिन्तामणि नाथ योगीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व राजदूत प्रा. डा. जयराज आचार्यको उपस्थिति रहेको थियो। गुठीका सचिव, कोषाध्यक्ष तथा अन्य पदाधिकारी एवं सदस्यहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
काठमाडौंमा आयोजित समारोहमा मनोज रामलाई दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, सचेतना, मानव अधिकार र सामाजिक रूपान्तरणका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान प्रेरणादायी रहेको बताए।
मनोज रामले विशेषगरी विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न निःशुल्क ट्युसन कक्षा, सिकाइ सुधार केन्द्र सञ्चालन, शैक्षिक सामग्री वितरण तथा विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ। उहाँले ग्रामीण क्षेत्रका बालबालिकालाई विद्यालयसम्म पहुँच पुर्याउन र शिक्षाबाट वञ्चित हुन नदिन विभिन्न अभियान सञ्चालन गर्दै आउनुभएको छ।
त्यसैगरी, उहाँ मानव अधिकार, सामाजिक न्याय, विभेद अन्त्य तथा दलित समुदायमाथि हुने अन्यायविरुद्ध विभिन्न राष्ट्रिय तथा स्थानीय अभियानमा सक्रिय रहँदै आउनुभएको छ। युवाहरूलाई संगठित गर्दै सामाजिक उत्तरदायित्व र नेतृत्व विकासमा समेत योगदान पुर्याएको कार्यक्रममा उल्लेख गरिएको थियो।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै मनोज रामले उक्त सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण दलित तथा सीमान्तकृत समुदायको संघर्षको सम्मान भएको बताउनुभयो। समाजमा अझै शिक्षा, स्वास्थ्य, अवसर र मानव अधिकारका क्षेत्रमा विद्यमान असमानता अन्त्य गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
“यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, समाज परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहेका सम्पूर्ण दलित, सीमान्तकृत समुदाय, युवा तथा सहयोगीहरूको सम्मान हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा सामाजिक अभियन्ता, बुद्धिजीवी, मानव अधिकारकर्मी, युवा प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले मनोज रामले सञ्चालन गरिरहेको अभियानले समुदायमा सकारात्मक प्रभाव पारेको भन्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए।

गुठीले सामाजिक न्याय, मानव सेवा, शिक्षा तथा समाज रूपान्तरणमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आउने जनाएको छ। मनोज रामलाई प्रदान गरिएको यो सम्मानले दलित समुदायको अधिकार र शिक्षाका क्षेत्रमा कार्यरत अभियन्ताहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

