राष्ट्रिय दैनिक / नवलपरासी, १७ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ को वडा स्तरीय बाल सञ्जालको आयोजनामा तथा सरावल गाउँपालिकाको आर्थिक सहयोगमा अन्तर बाल क्लब स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

वडा स्तरीय बाल सञ्जालकी अध्यक्ष सारधा पाण्डेयको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा विभिन्न बाल क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बालबालिकाको बौद्धिक विकास, नेतृत्व क्षमता तथा सिर्जनशीलता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताहरू प्रभावकारी माध्यम हुने बताउँदै बालमैत्री समाज निर्माणमा बाल क्लबहरूको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

त्यस्तै गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बालबालिकामा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र ज्ञानको विकास गर्न यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागिता जनाउन आग्रह गरिन्।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरी, पत्रकार उमेश बि.क., कवि हरिलाल यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविष्यको कामना गरेका थिए।

प्रतियोगितामा श्री कोटही माई बाल क्लब, गोईनी प्रथम, बालपुरी बाल क्लब, पिपरा द्वितीय, स्टारलाईट बाल क्लब, भिमटाँडी तृतीय तथा लालीगुराँस बाल क्लब, महुवा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता बाल क्लबहरूलाई शैक्षिक सामग्री तथा प्रमाणपत्र प्रदान गरिएको सरावल बाल सहजकर्ता सन्जय मौर्यले जानकारी दिए। प्रतियोगिताले बालबालिकाबीच ज्ञान आदान–प्रदान, नेतृत्व विकास तथा सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

