Rashtriya Dainik

वरिष्ठ साहित्यकार डा. दिनेश प्रसाद सिन्हा र विजय किशोर पाण्डे ‘विद्या वाचस्पति’ उपाधिबाट सम्मानित

वीरगञ्ज,१६ जेठ — हिन्दी, भोजपुरी तथा भारतीय साहित्यको क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका वरिष्ठ साहित्यकार डा. दिनेश प्रसाद सिन्हा र विजय किशोर पाण्डे प्रतिष्ठित विद्या वाचस्पति मानार्थ उपाधिबाट सम्मानित भएका छन्।
प्रतिष्ठित काशी हिन्दी विद्यापीठ द्वारा प्रदान गरिएको उक्त सम्मान नेपाल भोजपुरी फाउन्डेसनको आयोजनामा बारा जिल्लाको कलैयामा सम्पन्न विशेष समारोहमा प्रदान गरिएको हो। कार्यक्रममा काशी हिन्दी विद्यापीठका उपकुलपति ओम द्विवेदी ‘ओम’ले दुवै साहित्यकारलाई सम्मानपत्र तथा स्मृति चिन्ह प्रदान गर्नुभएको थियो।


विद्यापीठद्वारा जारी सम्मानपत्रअनुसार डा. दिनेश प्रसाद सिन्हालाई हिन्दी, भोजपुरी तथा लोकभाषाको संरक्षण, प्रवर्द्धन, साहित्यिक अनुसन्धान तथा साहित्यिक पत्रकारितामा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरिएको हो।
त्यसैगरी विजय किशोर पाण्डेलाई भोजपुरी भाषाको विकास, हिन्दू संस्कृति सम्बन्धी अनुसन्धान, प्राचीन ग्रन्थहरूको अनुवाद तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उक्त प्रतिष्ठित उपाधि प्रदान गरिएको जनाइएको छ।
डा. सिन्हा विगत चार दशकदेखि हिन्दी, भोजपुरी र साहित्यिक पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँका रचना तथा अनुसन्धानमूलक लेखहरू भारत तथा विदेशका विभिन्न प्रतिष्ठित पत्रपत्रिका र जर्नलहरूमा प्रकाशित हुँदै आएका छन्। साहित्य, समाज र संस्कृतिसम्बन्धी विषयमा उहाँका लेखनले व्यापक प्रशंसा प्राप्त गरेका छन्।


त्यसैगरी साहित्यकार विजय किशोर पाण्डेले नेपाल र भारतबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको पहलले दुवै देशका साहित्यकारबीच संवाद, सहकार्य तथा सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाएको बताइएको छ।
सम्मान समारोहमा गौतम माधव, डा. गोपाल अश्क, रामप्रसाद शाह, डा. अनिता शाह, स्मिता पटेल, प्रिया मिश्रा लगायत नेपालका विभिन्न साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित