Rashtriya Dainik

बिजुलीमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको उक्त निर्णयले आम उपभोक्ताको मासिक खर्च बढाउने र भान्सा अझ महँगो बनाउने घिसिङको भनाइ छ। उनले खाना पकाउने, पानी तताउने लगायत घरायसी प्रयोजनमा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा सरकारले उल्टै अतिरिक्त करको भार थपेको बताएका छन्।

घिसिङका अनुसार ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन्। यस्तो निर्णयले विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घट्न सक्ने र पुनः एलपी ग्यासमा निर्भरता बढ्न सक्ने उनको चेतावनी छ।

उनले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन प्रोत्साहनमूलक नीति आवश्यक रहेको भन्दै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कर व्यवस्था राष्ट्रिय ऊर्जा सुरक्षा र हरित अर्थतन्त्र निर्माणको लक्ष्यविपरीत रहेको बताए।

घिसिङले आम उपभोक्ताको हित र स्वदेशी विद्युतको उपयोग बढाउने उद्देश्यका लागि विद्युतमा लगाइएको अतिरिक्त ५ प्रतिशत भ्याट तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित