पर्सा ,१६ जेठ
पर्सामा पत्रकारहरूको सदस्यता शुद्धीकरणको माग राख्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले शुक्रबार दिउँसो १ बजे कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो।
गत मंगलबार र बुधबार कार्यालय अगाडि एक एक घण्टा धर्ना दिए पनि जिल्ला शाखाले वास्ता नगरेपछि तालाबन्दी गरिएको सदस्यता शुद्धीकरण संघर्ष समितिले जनाएको छ। सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका लागि गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले दुई दिन लगातार धर्ना दिँदा पनि केही सुनुवाइ नभएपछि आन्दोलनको स्वरूप बदल्दै अनिश्चितकालीन तालाबन्दी गरिएको शुद्धीकरण संघर्ष समितिका संयोजक अनुप तिवारीले जानकारी दिए।
नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्षसमेत रहेका संयोजक तिवारीले सदस्यता शुद्धीकरण संघर्ष समितिले वर्तमान कार्यसमितिले विगत जस्तै छानबिन गरी अयोग्य र विधानविपरीत रहेकाहरूलाई सदस्यबाट हटाउने माग गरेको छ।
साथै विधानसम्मत सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्न र सदस्यता छानबिनका लागि आवश्यक पहल कदमी नगरेपछि अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताए। समितिका संयोजक तिवारीले लोकतान्त्रिक व्यवस्था र नागरिकका लागि सर्वाधिक पत्याइएको संस्थाको रूपमा रहेको नेपाल पत्रकार महासंघ आफ्नो मर्यादालाई बचाई राख्न स्वयंविधि विधान र पद्धतीअनुरूप अगाडि बढनुपर्ने सुझाव दिए।
उनका अनुसार समितिले ०७२ माघ १४ गते शाखाका पूर्वअध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा पूर्वअध्यक्षहरूसहितको कार्यदलले निर्माण गरेको विभिन्न सातवटा मापदण्डमा नपर्ने शाखाका सदस्यहरूलाई सदस्यताबाट वञ्चित गरेको तथा विगतका दुई कार्यकालमा महासंघ पर्साले शुद्धीकरण अभियानअन्तर्गत संस्थालाई मर्यादित स्वच्छ बनाउने कार्यलाई पुनः निरन्तरता दिन माग गर्दै धर्ना दिएको हो।
यसअघि सदस्यता शुद्धीकरण संघर्ष समितिले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, मधेश प्रदेश कार्यालय र जिल्ला शाखालाई ध्यानाकर्षणपत्र बुझाएर धर्ना सुरु गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

