Rashtriya Dainik

क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर : ३३८ जनाले सेवा लिए, ३६ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया हुने

मिना केसी / नवलपरासी ,११ जेठ ।

पश्चिम नवलपरासीको सुनवलमा क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति, नवलपरासी (बसुप) को आयोजनामा एक दिने निःशुल्क आँखा जाँच तथा उपचार शिविर सम्पन्न भएको छ ।

“राष्ट्रिय अखण्डता र जातीय सद्भावको निम्ति क्षेत्रीय एकता आजको आवश्यकता” भन्ने मूल नारासहित आयोजित शिविरबाट ३३८ जना सेवाग्राही लाभान्वित भएका छन् ।

नेपाल राममन्दिर संरक्षण समिति सभाहल, सुनवल–५ बनकट्टीमा सञ्चालन गरिएको शिविर जिल्ला कार्य समिति अध्यक्ष मनोज कुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सुनवल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारीले गर्नुभएको थियो ।

कार्यक्रममा बुटवल लायन्स आँखा अस्पतालका अध्यक्ष महेश प्रसाद श्रेष्ठ विशिष्ट अतिथि तथा बाहक कार्यक्रम संयोजक मनोहर न्यौपाने विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा क्षत्री समाज नेपाल नवलपरासीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम प्रवक्ता मोहन कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सचिव क्या. यमबहादुर खत्रीले गर्नुभएको थियो ।

शिविरमा नेत्र सहायक अनुषा ज्ञवाली, मुना रिजाल, अस्मिता थारुलगायत स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहेको थियो । चश्मा तथा औषधि व्यवस्थापनतर्फ अमर चौधरी र मदन बास्तोलाले सहजीकरण गर्नुभएको आयोजकले जनाएको छ ।
आँखा परीक्षणका क्रममा ३३८ जनाले सेवा लिएकोमा ३६ जना मोतिबिन्दुका बिरामी पहिचान गरिएको छ । ती बिरामीहरूको बुटवल लायन्स आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने तथा लैजाने–ल्याउने सम्पूर्ण व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।

शिविरमा सहभागी बिरामीलाई आवश्यक औषधि तथा चश्मा निःशुल्क तथा सहुलियत दरमा वितरण गरिएको थियो । कार्यक्रम सफल बनाउन विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वहरूको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ ।


बुटवल लायन्स आँखा अस्पताल, बुटवल–२ रुपन्देही तथा क्षत्री समाज नेपाल जिल्ला कार्य समिति, नवलपरासी (बसुप) को संयुक्त आयोजनामा सम्पन्न उक्त सामाजिक सेवामूलक कार्यक्रमले स्थानीय नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समाजसेवामा क्षत्री समाज नेपालको सक्रिय भूमिका उजागर गरेको सहभागीहरूले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित